• १४ वैशाख २०८१, शुक्रबार

पाँच दिनदेखि दुई बालिका बेपत्ता

blog

सिराज खान 

नेपालगञ्ज, असोज १० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियाका १३ वर्षीया वन्दना विक र ११ वर्षीया निशा परियार गत पाँच दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन्।

विक र परियार सम्पर्कविहीन भएको तीन दिनपछि वन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको र सोही आधारमा तत्कालै खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो। 

उहाँले उनीहरू जानसक्ने र सम्पर्क भएका ठाउँ तथा आफन्तसँग शोधपुछ भइरहेको बताउनुभयो। असोज ४ गते बेलुका निशाले वन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकोमा उनीहरूले दालभात पकाए पनि खाना नखाएको देखिएको उहाँले बताउनुभयो। ती दुवै बालिकाका आमाहरू दोस्रो बिहे गरी अन्यत्र गइसकेको र उनीहरू दुवैका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको हुँदा निशा मावली हजुरबुबा र वन्दना सानीआमा र हजुरआमासँग बस्दै आएका थिए। 

निशाका मावली हजुरबुवा भीमबहादुर दमाईले उक्त दिन आफू दाङको दङ्गीशरण गाउँपालिका–१, गोल्टाकुरीमा काम विशेषले गएको र असोज ५ गते बेलुका घरमा फर्किंदा नातिनीलाई घरमा नदेखेको प्रहरीलाई बताउनुभएको छ। निशा स्थानीय कुसुमेश्वर माध्यामिक विद्यालयको कक्षा ४ र वन्दना ३ मा पढ्दै थिए। त्यसदिन निशाले घरमा आफू एक्लै भएको भन्दै मिल्ने साथी वन्दनालाई खाना खान र सुत्न बोलाएकी थिइन्। प्रहरीका अनुसार उनीहरू पूर्वपश्चिम राजमार्गस्थित कुसुम बजारमा पानी र मकै बेचेर आफ्नो खर्चको आफैँ जोहो गर्थे। उनीहरू एकदिन स्कुल पढ्न जाने र एकदिन सडकमा पानी र मकै बेच्ने गरेको छिमेकीले जनाएका छन्। 

वन्दना गत वर्ष आफ्नी सानीआमासँग कामको खोजी गर्ने क्रममा पोखरा पुगेर सानीआमासँगै काम गरी फर्किएकी पनि थाहा भएको छ। 

एकै ठाउँका दुई जना बालिका हराएको सूचना पाएलगत्तै खोजी कार्य जारी राखिएको जनाउँदै कोहलपुरका डीएसपी मल्लले सबै युनिटमा उनीहरूको फोटोसहितको जानकारी पठाएर खोजतलासमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो। उहाँले काकाको घरमा सुत्न जाने भनेर गएका उनीहरू कहाँ गए सो बारेमा खोजतलास तीव्र रूपमा भइरहेको बताउनुभयो।