• ५ माघ २०८१, शनिबार

एभरेष्ट चिनी मिलको क्रसिङ सम्पन्न

blog

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १ गते । रामनगरस्थित एभरेष्ट चिनी मिलले यस वर्षको उखु क्रसिङ सम्पन्न गरेको छ । एभरेष्टले आज बिहान साढे ४ बजेदेखि चालु सिजन (०८०÷८१) को क्रसिङ सम्पन्न गरेको औपचारीि जानकारी गराएको हाे । 

यो पटक मिल ८९ दिन चले पनि पटकपटक गरी ७ दिन ‘नो केन’ हुँदा खुद क्रसिङ भने ८२ दिन मात्र भएको छ । उखुको मूल्यलाई लिएर किसानहरु आन्दोलनमा उत्रेका कारण निर्धारित समयभन्दा ११ दिनपछि अर्थात् पुस ४ गतेदेखि मिल चलेको थियो । यस अवधिमा २९ लाख ४ हजार क्विन्टल उखु क्रसिङ गरिएको छ । यो परिमाण लक्ष्यको करिब ६ लाख क्विन्टल घटी हो ।

यसपालि चिनीको ‘रिकभरी’ सरदर ९ प्रतिशत रहे पनि कति चिनी उत्पादन भयो ५ दिनपछि मात्र यकिन हुने एभरेष्टले जनाएको छ । महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार गत वर्ष (०७९÷८०) २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको एभरेष्टले यो वर्ष ३५ लाख क्विन्टल क्रसिङको लक्ष्य लिइएको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ९ लाख क्विन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रबन्धक शुक्लाले जनाउनु भयो । 

तथापि क्रसिङ सिजनको निकट पारेर किसानहरु आन्दोलनमा उत्रेपछि एभरेष्ट लगायतका ठुला मिलहरु निर्धारित समयमा सञ्चालन हुन सकेनन् । यसैलाई अवसर बनाएर सर्लाही र बारा जिल्लाका साना चिनी मिलहरुले आन्दोलन अवधिमा पनि क्रसिङ जारी राखे । आन्दोलनका कारण ठुला मिल सञ्चालनमा अन्याेल देखिएपछि हतारमा रहेका कतिपय किसानले साना मिलमा उखु खपत गरेकाले ठुला मिलका लागि उखु आपूर्तिमा स्वाभाविक कमी आएको थियो । 

क्रसिङको उत्तरार्धमा आइपुग्दा प्रतिकूल मौसमले उखु आपूर्तिमा थप समस्या पर्‍याे । पटकपटक ‘नो केन‘ को स्थिति आयो । यी कारणले गर्दा एभरेष्टले लक्ष्यबमोजिम क्रसिङ गर्न नसकेको शुक्लाले जनाउनुभयो । यो वर्षदेखि एभरेष्टले ५ दिनभित्रै उखुको भुक्तानी दिन थालेकोले मिलप्रति किसानको भरोसा बढे पनि समुचित मूल्य नपाउँदा उखु किसान भने निराश देखिएका छन् । यो नैराश्यकाे असर आगामी वर्षको उखुखेतीमा पर्ने हुदा उखु अभाव तत्कालै समाधान हुने सङ्केत देखा नपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले जनाउनुभयो । 

सरकारले गत वर्ष उखुको ५४० रुपियाँ रेटमा २५ रुपियाँमात्र थप गरि प्रति क्विन्टल ५६५ रुपियाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ अनुदानसमेत जोड्दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपियाँ कायम भएको छ । उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपियाँ माग गर्दै आएका छन् । 

"यो माग सम्बाेधन नभएसम्म मूल्यका लागि किसान रुने र उखुका लागि चिनी मिल रुने अवस्थामा सुधार आउन सक्दैन," कुशवाहाले भन्नुभयो ।