जाकार्ता (इन्डोनेसिया), जेठ ५ गते । विश्वव्यापी समुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित विभिन्न दस देशका विदेशमन्त्रीले निन्दा गरेका छन् । इन्डोनेसियाको विदेश मन्त्रालयको समाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गरी निन्दा गरेको बताएको हो ।
टर्की, बङ्गलादेश, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, जोर्डन, लिबिया, माल्दिभ्स, पाकिस्तान र स्पेनका मन्त्रीहरूले अन्तर्राष्ट्रिय समुद्री मार्ग फ्लोटिला विरुद्ध इजरायली आक्रमणबारे गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ । उनीहरूले फ्लोटिलामा नागरिक जहाज र मानवीय कार्यकर्तालाई लक्षित गरी गरेको शत्रुतापूर्ण कार्यको निरन्तरताको निन्दा गरेका छन् ।
उनीहरूले जहाजमा आक्रमण र कार्यकर्तालाई मनमानी हिरासतमा राख्नु अन्तर्राष्ट्रिय कानुन र मानवीयता स्पष्ट उल्लङ्घन भएको बताएका छन् । मन्त्रीले फ्लोटिलामा नागरिकको सुरक्षाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सबै हिरासतमा रहेका कर्मचारीको तत्काल रिहाइ र उनीहरूको अधिकार र मर्यादाको पूर्ण सम्मान गर्न आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो कानुनी र नैतिक जिम्मेवारी कार्यन्वयन गर्न आह्वान गर्दै मन्त्रीहरूले नागरिक र मानवीय मिसनको रक्षा गर्न र उल्लङ्घन गर्नेका लागि जवाफदेहिता सुनिश्चित गर्न ठोस कदम चाल्न आग्रह गरेका छन् । सोमबार, इजरायली नौसेना बलले ग्लोबल समूद्री क्षेत्र फ्लोटिलाका जहाजलाई गाजा पुग्नबाट रोकेको इजरायली मिडियाले रिपोर्ट गरेका छन् । रासस/सिन्ह्वा