• ५ जेठ २०८३, मङ्गलबार

पोषणमैत्री स्वास्थ्य संस्था निर्माण गर्न माग

blog

पोषणमैत्री स्वास्थ्य संस्था निर्माण गर्न माग गर्नेहरू ।

यदुप्रसाद भट्ट

मनाङ, जेठ ५ गते । प्रदेश जनस्वास्थ्य कार्यालय चामे, मनाङको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत “पोषणमैत्री स्वास्थ्य संस्थासम्बन्धी स्थानीय तह अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा पोषणमैत्री स्वास्थ्य संस्था निर्माणमा जोड दिइएको छ । जेठ २ र ३ गते सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यालय प्रमुख रविना ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा पोषणमैत्री स्थानीय शासनका मुख्य प्रशिक्षक सुदीप चिलुवाल, गण्डकी प्रदेश नीति योजना आयोगका बहुक्षेत्रीय पोषण कार्यक्रम प्रदेश संयोजक रुबी जोशी तथा कार्यालय प्रमुख ठगुन्नाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, पोषण फोकल व्यक्ति तथा स्वास्थ्य चौकी प्रमुख वा फोकल व्यक्तिसहित १७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा पोषणको विद्यमान अवस्था, राष्ट्रिय पोषण कार्यक्रम, पोषणमैत्री स्थानीय शासन, पोषणमैत्री स्वास्थ्य संस्था तथा पोषण गुणस्तर सुधार निर्देशिका लगायत विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा पोषणमैत्री स्थानीय शासन घोषणा गर्न स्वास्थ्य क्षेत्रसँगै कृषि, पशुपक्षी, महिला तथा बालबालिका, शासकीय प्रबन्ध, खानेपानी, सरसफाइ तथा स्वच्छता र शिक्षा क्षेत्रबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।

त्यसैगरी, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न स्वास्थ्य संस्थाले अनिवार्य मापदण्डसहित निर्धारण गरिएका १६ वटा सूचक पूरा गर्नुपर्ने जानकारी दिइएको छ । कार्यक्रममा सहभागीले स्थानीय तहमा पोषण सुधार तथा बहुक्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।