• १४ मंसिर २०८१, शुक्रबार

मिरकोटकाे आफ्नै भवनबाट सेवा प्रवाह सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत १ गते । गोरखाको पालुङटार नगरपालिका-१० मिरकोटले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । विगत लामो समयदेखि प्रयोग गर्दै आएको भवन तत्कालीन मिरकोट गाविसको केही भूभाग मिसाएर ९ नम्बर वडा बनेपछि वडा न १० को वडा कार्यालय भवनविहीन बन्न पुगेको थियो । 

वडावासीहरू सेवा प्रवाहको लागि अर्को वडामा जानु पर्ने बाध्यता अन्त्य गर्न आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको वडा अध्यक्ष ऋखिराज द्यौरालीले जानकारी दिनुभयो ।

सेवा प्रवाह गरिएतापनि भवनको भने उद्घाटन नभएको उहाँको भनाइ छ । नयाँ भवनबाट सेवा गर्न पाउँदा खुसी लाग्नुका साथै वडाको प्रशासनिक कार्यमा सहज भएको उहाँले बताउनुभयो । वडा भवन कुल ९८ लाख २८ हजार ८ सय ५ रुपियाँ बजेटमा निर्माणमा समापन्न भएको पालुङटार नगरपालिकाका इन्जिनियर अनुप देवकोटाले जानकारी दिनुभयो । 

नगरपालिका र निर्माण कम्पनी बिच २०७८ पौष ६ गते सम्झौता भई एक वर्षभित्रमा सम्पन्न गर्नुपर्ने भएतापनि भवन निर्माण ढिलो मात्र सम्पन्न भएको उहाँले बताउनुभयो । 

निर्माण भएको नयाँ भवनमा एक बैठक कक्ष, सभा हल र अन्य तीन वटा कोठा रहेको पनि उहाँले जानकारी दिनुभयो । वडाको आफ्नै नाममा रहेको जग्गा २८ आना मध्येबाट ५ आनामा भवन निर्माण सम्पन्न भएको हो । 

भवनबाट प्रशासनिक काम भने गत महिनाको १ गते त्यही भवनबाट सुचारु गरिएको वडा कार्यालयले जनाएको छ ।