हुम्ला समाचारदाता
हुम्ला, चैत १ गते । सिमकोट–हिल्सा सडकको हेक्पा खोलामा पक्की पुल निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माणको सम्झौता भएको थियो । सो अवधिमा कामै सुरु नभएपछि आयोजनाले पहिलो पटक २०७६ सालमा म्याद थप गरेको थियो ।
हिल्सा–सिमकोट सडक आयोजनाले २०७४ साल साउन ६ गते सपना धुलिखेल जेभीसँग पुल निर्माण सम्झौता गरेको थियो । आयोजनाका प्रमुख बेलबहादुर नेपालीले पटक पटक गरी चार पटक उक्त पुल निर्माणका लागि म्याद थप गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माणको काम अझै हुन सकेको छैन । आयोजनाले ताकिता गरिरहेको छ । सो पुलको अन्तिम म्याद २०८० साल असार ३० गते सकिन्छ । उक्त पुलको ५८ प्रतिशत भौतिक र ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । पुलको लागत भ्याटसहित १३ करोड २९ लाख १२ हजार ५४७ रुपियाँ रहेकोमा हालसम्म आयोजनाले छ करोड ३८ लाख ६९ हजार ७२० रुपियाँ भुक्तानी लिइसकेको छ ।