• २५ वैशाख २०८२, बिहिबार

उज्यालोतर्फको यात्रा

blog

३० मेगावाटको चमेलिया जलविद्युत्गृहको ड्याम साइट ।

‘सूर्य पनि अस्ताउन मात्रै सुदूरपश्चिममा आउँछ’, साहित्यकारले यसो भनेका भए पनि अँध्यारोमा बाँचिरहेको सुदूरपश्चिममा बिजुली नहुँदा डुबेको घाम हेर्दै बस्नुपर्ने अवस्था थियो । उज्यालोका लागि झरो र टुकी प्रयोग हुन्थ्यो । सूर्य नअस्ताउँदै घरको आँगनमा बासुलोको सहायताले सल्लाको लिसो मिसिएको दाउरा चिरेर झरोको जोहो गरिन्थ्यो । हुने खानेको घरमा लालटिन बल्थ्यो । आज यस प्रदेशमा १० वटा ठुला जलविद्युत् आयोजनाबाट १७५ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन हुन थालेपछि सुदूरपश्चिमको उज्यालो यात्रा सुरु भएको छ ।  

नेपालमा पहिलो पटक आजभन्दा ११४ वर्षअघि विसं १९६८ सालमा फर्पिङ लघु जलविद्युत् आयोजनाबाट पाँच सय किलोवाट बिजुली उत्पादन भएको थियो । त्यसको करिब ६० वर्षपछि २०२८ सालमा सुदूरपश्चिममा पहिलो पटक भारतको टनकपुरबाट आयात गरेर कञ्चनपुरमा बिजुली बल्यो । कञ्चनपुरमा बिजुली बलेको करिब १४ वर्षपछि पहाडी जिल्ला बैतडीमा २०४२ सालमा भारतकै बिजुली आयात गरेर सदरमुकाममा बिजुली बल्यो । 

बैतडीको पूर्वमा सेती नदी (पश्चिम सेती परियोजना), उत्तरमा चमेलिया, पश्चिममा महाकाली (पञ्चेश्वर परियोजना) र मध्यभागमा सुर्नया नदी बगे पनि भारतको बिजुलीमा निर्भर हुनु परेको थियो । बिजुली उत्पादन हुने सम्भावनाको खोजी हुने क्रममा २०४४ सालमा बैतडीको सुर्नया नदीबाट पहिलो पटक स्वदेशी विद्युत्का रूपमा दुई सय किलोवाट बिजुली उत्पादन भयो । यसले बैतडीको पाटन क्षेत्र उज्यालो बनायो । विद्युत् विकास विभागको तथ्याङ्क अनुसार आज सुदूरपश्चिम प्रदेशमा १० ठुला जलविद्युत् आयोजनाबाट १७५.३७ मेगावाट जलविद्युत् उत्पादन हुन थालेको छ । बैतडी–दार्चुलाको सीमा नदी चमेलियाबाट मात्रै सरकारी र निजी क्षेत्रको पहलमा ९६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाबाट नेपाल विद्युत् प्राधिकरणले ३० मेगावाट जलविद्युत् उत्पादन थालेको थियो । त्यसपछि बैतडी–दार्चुलाको सीमा नदी चमेलियाबाट निजी क्षेत्रको लगानीमा नौ वटा ठुला जलविद्युत् आयोजना निर्माण भएर १४५.३७ मेगावाट जलविद्युत् उत्पादन सुरु भएको छ । यसका साथै बझाङको कालङ्गा गाडमा तीन वटा जलविद्युत् आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत् उत्पादन सुरु भएको छ । 

दार्चुलाको नौगाड आयोजनाबाट ८.५, दार्चुलाको मकारीगाड आयोजनाबाट १०, दार्चुलाकै अप्पर नौगाडबाट आठ, डोटीको कापडीगाड आयोजनाबाट ३.३३ र बझाङको सुनिगाड आयोजनाबाट ११.०५ मेगावाट जलविद्युत् उत्पादन भइरहेको विद्युत् विकास विभागको तथ्याङ्क छ । यी आयोजनामा निजी कम्पनीले लगानी गरेका छन् । 

छयासी प्रतिशत घरधुरीमा बिजुली 

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका कुल पाँच लाख ४० हजार ७४५ घरधुरीमध्ये तीन लाख ७२ हजार ५१२ घरधुरीमा बिजुली पुगेको छ । घरधुरीको सङ्ख्याको अनुपात हेर्ने हो भने सुदूरपश्चिममा ८६.४३ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार कैलाली, कञ्चनपुरमा ९९.१२ प्रतिशत, डोटीमा ८०.७२ प्रतिशत, डडेलधुरामा ९१.०३ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्याङ्क छ । त्यसै गरेर बैतडीमा ७५.६० प्रतिशत, दार्चुलामा ८९.६४, अछाममा ६४.४६, बझाङमा ६६.७४ प्रतिशत र बाजुरामा २९.२४ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । 

पालिकालाई रोयल्टी 

मार्मा गाउँपालिकामा बनेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको मार्मा गाउँपालिकाको मुहार फेरिन थालेको छ । विद्युत् आयोजनाले नेपाल सरकारलाई वार्षिक पाँच करोड रुपियाँ रोयल्टी बुझाउँदा मार्मा गाउँपालिकाले तीन करोड रुपियाँभन्दा बढी रोयल्टी प्राप्त गर्दै आएको छ । प्राप्त रोयल्टी मार्माको विकासमा खर्च भइरहेको छ । आयोजनाले स्थानीयस्तरमा रोजगारी र लगानीको ढोका खोलेको छ । चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको दुर्गम मार्मा गाउँपालिकाको मुहार फेर्नुका साथै सुदूरका अँध्यारा बस्ती उज्याला हुँदै छन् । दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुँदा मार्माका तीन सयभन्दा बढी स्थानीयले रोजगारी प्राप्त गरेका छन् भने कृषि उपज बिक्री गरेर यहाँका स्थानीयले लाखौँ रुपियाँ कमाउन सफल भएका छन् । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत वार्षिक ५० लाख रुपियाँभन्दा बढी नभएको अवस्थामा मार्मा गाउँपालिकाले जलविद्युत् आयोजनाबाट वार्षिक तीन करोड रुपियाँभन्दा बढी पाउन थालेको छ । जलविद्युत् आयोजना बन्नुअघि मार्मा गाउँपालिकाको गएको दुई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा जम्मा ४०/५० लाख रुपियाँभन्दा बढी आन्तरिक आम्दानी गर्न सकेको थिएन । 

फेरिए हाटबजार 

विद्युत् आयोजनाले दार्चुला र बैतडीका दुर्गम गाउँमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ । दार्चुलाको मार्मा गाउँपालिकाका चार ठाउँमा रहेका परम्परागत हाटबजार सुकिला बन्न थालेका छन् । विद्युत् आयोजना बनेपछि मार्मा गाउँपालिकाका छ वटा वडामध्ये चार ठाउँमा बजारीकरण सुरु भएको छ । लटिनाथ, सेलीबासा, सिमार र पारीबगर व्यापारिक केन्द्र बन्न थालेका छन् । मार्माको मुख्य बजारका रूपमा रहेको लटिनाथमा करिब दुई सय पक्की घर ठडिएका छन् । लटिनाथमा सहरका जस्तै सुकिला घर बन्न थालेपछि यहाँका हाटबजार फेरिन थालेका छन् । 

विद्युत् आयोजनासँगै गाउँमा सडक आएपछि स्थानीयलाई पक्की घर बनाउन सहज भएको स्थानीय नरबहादुर विष्टको अनुभव छ । होटेल व्यवसायीसमेत रहनुभएका विष्टले विद्युत् आयोजनाका ठुला ठुला मेसिन उपकरण ल्याउन गाउँमा फराकिलो सडक बनेपछि मार्मावासीले सित्तैमा सडक पाएको बताउनुभयो । गाउँमा होटेल व्यवसाय फस्टाउन थालेका छन् । परम्परागत खेती किसानीमा निर्भर मार्माका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको छ । तरकारी र दुग्धजन्य कृषि उपजबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेपछि मार्मा गाउँपालिका समृद्धिको बाटोमा अघि बढेको गाउँपालिका उपाध्यक्ष शर्मिला चन्द सिंहले बताउनुहुन्छ । 

पानी उद्योग सञ्चालन 

अपि हिमालको फेदबाट बग्ने चमेलिया नदीबाट अहिले कुल ९६.५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जसमध्ये निजी क्षेत्रको अपि पावर कम्पनीका तीन वटा विद्युत् आयोजनाले मात्रै ५६.५ मेगावाट बिजुली र दैनिक २० हजार लिटर मिनरल वाटर उत्पादन गरिरहेको छ । दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२ घट्टीगाडमा अप्पर चमेलियाको विद्युत्गृह रहेको छ । सोही जलविद्युत्गृहभित्र १० करोड रुपियाँको लागतमा मिनरल वाटर सञ्चालनमा आएको छ । 

अपि नाम दिइएको पानी उद्योगले एक लिटर, आधा लिटर र तीन सय मिलिलिटरको चारकुने बोतलमा पानी राखेर बिक्री गर्न सुरु गरेको छ । पानीको मूल्य एक लिटरको २५ रुपियाँ, आधा लिटरको १५ र तीन सय मिलिलिटरको १० रुपियाँ मूल्य कायम छ । पानी उद्योगमा १६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । निजी क्षेत्रको अपि पावर कम्पनीले चमेलिया नदीबाट ८.५ मेगावाटको नौगाड, आठ मेगावाटको अप्पर नौगाड र ४० मेगावाटको अप्पर चमेलिया गरी ५६.५ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । विद्युत्सँगै पानी उद्योग सञ्चालन गरेर बजारमा शुद्ध पिउने पानीको आपूर्ति गर्न कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले पानी उद्योगसमेत सुरु गर्नुभएको छ । 

बिजुली निकाल्ने सपना बोकेर बैतडी हुँदै चमेलिया नदी किनार पुग्नुभएका न्यौपानेले तिर्खा लागेका बेला चमेलियाको पानी पिउँदा असाध्यै मिठो लागेको अनुभव सुनाउनुभयो । यति मिठो पानीबाट बिजुली मात्रै होइन, मिनरल वाटर पनि निकाल्नु पर्छ भन्ने लागेर उहाँले पानी उद्योगसमेत सञ्चालनमा ल्याउनुभएको छ । उत्पादित पानी बैतडी, दार्चुला, डोटी र डडेलधुरा हुँदै प्रदेश राजधानी कैलालीसम्म पानी बिक्री भइरहेको छ ।