• १५ वैशाख २०८१, शनिबार

महाजात्रासँग स्थानीय सरकारको संवाद

blog

धरान समाचारदाता

धरान, चैत १ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली चलचित्र क्षेत्रलाई समेट्ने बताउनुभएको छ । धरानमा बुधबार आयोजित ‘महाजात्रासँग स्थानीय सरकार ः चलचित्र संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली चलचित्रसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताउनुभयो । “नेपाली चलचित्रलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले चलचित्रलाई हे¥यो र सोच्यो भन्ने आभाष पक्कै हुने छ । म चलचित्र, कला र साहित्यसँग जोडिएको र गम्भीर रूपमा सोच्ने व्यक्ति हुँ,” मेयर साम्पाङले भन्नुभयो, “धरानमा चलचित्र छायाङ्कनका लागि सहज हुने गरी चाँडै सुटिङ स्थल समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने छु ।”

उहाँले अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाँच्न सिकाउने कलाकारका रूपमा बुझेको सुनाउनुभयो । “कलाकारलाई माया मोबाइलमा गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नु पर्छ । त्यसैले चलचित्र हलमै हेर्ने गरौँ, यो महाजात्रा पक्कै राम्रो बनेको छ किनकि हरिवंश जस्तो कलाकार यत्तिकै चलचित्रमा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु,” उहाँले भन्नुभयो । चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले स्थानीय सरकारसँग आफूहरूले ठुलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताउनुभयो । उहाँले चलचित्र छायाङ्कनका क्रममा आउँदा ‘लोकेसन’ देखि थुप्रै कुरामा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गर्नुभयो ।

यसै गरी याक्थुम चलचित्रकर्मी महासङ्घका अध्यक्ष नवीन मेन्याङ्बो, अनाम रङ्गमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासङ्घ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र चलचित्रको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गर्नुभयो ।