• १३ मंसिर २०८१, बिहिबार

लेन अनुशासनको पालना गराउन शिक्षा

blog

भैरहवामा लेन अनुशासनबारे शिक्षा दिंदै ट्राफिक प्रहरी । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, फागुन ३० गते । रुपन्देही ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन यात्रु तथा चालकलाई सडकमै शिक्षा दिन थालेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक, पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा चल्ने सबै किसिमका सवारी चालकलाई लेन अनुशासन र ट्राफिक नियमबारे सडकमा शिक्षा दिन थालिएको हो ।

अभियानको पहिलो दिन मंगलबार एक हजार बढी साना–ठुला सवारी चालकलाई लेन अनुशासनबारे शिक्षा दिएको छ । ट्राफिकले द्रुतगति नियन्त्रणका लागि ‘राडर गन’ मार्फत पनि चेकजाँचलाई तीव्रता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख बजिरसिंह विष्टले पछिल्लो एक महिनामा मात्र तीव्र गतिमा सवारी चलाउने एक हजार बढी कारबाहीमा परेको जानकारी दिनुभयो । 

‘यतिमात्र होइन, हामीले ट्राफिक नियमबारे विद्यालय, सामाजिक संस्था र यातायात व्यवसायीलाई पनि शिक्षा दिँदैआएका छौँ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा पछिल्लो समय रुपन्देहीमा मासिक दुर्घटना दर २० प्रतिशतले घट्दै गइरहेको छ । दुर्घटना हुनै नदिन हाम्रो तर्फबाट हुने सबै किसिमका प्रयास निरन्तर रहन्छन् ।’

ट्राफिकका अनुसार लेन अनुशासन पालना नगर्नेमा साना सवारी मात्र होइन यात्रुवाहक र मालवाहक सवारी पनि छन् । पछिल्लो समय मुलुकमा भइरहेको सडक बिस्तारसँगै गतिअनुसारको लेन छुट्टयाएको भए पनि पालना नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ । 

ट्राफिक प्रहरी प्रमुख विष्टले भन्नुभयो, ‘सडकमा लेन छुट्टयाएर रेखाङ्कन गरिसके पनि त्यसको प्रयोग नभएकाले ट्राफिक प्रहरीले यसलाई अभियानको रूपमा अगाडि सारेको हो ।’ नियमअनुसार सडकको स्तर हेरेर प्रतिघण्टा ६० किमी मात्र सवारी कुदाउन पाउने प्रावधान छ । 

‘विकसित मुलुकमा ट्राफिक नियम उल्लङ्घन गर्ने चालक भेट्नै मुस्किल पर्छ । तर, हाम्रो भने सवारी चलाउँदा नियम पालनाभन्दा मिच्ने प्रवृत्ति अधिक छ’, उहाँले भन्नुभयो, ‘चालक आफै सचेत हुने हो भने सकभर दुर्घटना नै हुँदैनन् ।’

स्थानीय भेषराज गैरेले मोटरसाइकल चलाउँदा लेन अनुशासन पालना नगरेका कारण ट्राफिकले आफूलाई सचेत गराएको बताउनुभयो । ‘भुलबस लेन अनुशासन पालना गर्नबाट चुकेँ, मेरो सवारी रोकेर ट्राफिक प्रहरीले धेरै कुरा सिकाउनुभयो’ उहाँले भन्नुभयो, ‘अब सधैँ नियमअनुसार सवारी चलाउने गर्छु ।’