• २१ असार २०८१, शुक्रबार

पीडित बालिकाको गोपनीयता भङ्ग गर्नेलाई खोज्दै प्रहरी

blog

शिवराज ढुङ्गाना
अछाम, फागुन २९ गते ।
बलात्कार पीडित एक बालिकाको गोपनीयता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुकलगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।

पीडित पहिचान हुने गरेर भिडियो, फोटो र लिखत विवरण सामाजिक सञ्जालमा राख्नेलाई प्रहरीले खोजी गरिहरेको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो । ‘‘पीडितको गोपनीयता भङ्ग गर्नेलाई प्रहरीले खोजिरहेका छौं, कोही त्यस्तो भए जानकारी पाउँ ।’’ प्रहरी निरीक्षक साउदले भन्नुभयो ।

कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी गोपनीयता भङ्ग गर्ने/गराउने व्यक्तिलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने उल्लेख छ । अछाम प्रहरीका अनुसार बालिकाको गोपनीयता भङ्ग गर्ने खोजीका क्रममा केही व्यक्ति भारतमा रहेको खुलेको छ ।

अछाममा बुवाबाट बलात्कार भएको भनिएकी एक बालिकाको र आरोपितको पहिचान हुने गरेर भिडियो सामाजिक सञ्जालमा हालिएको थियो ।आरोपितबाट बालिकाको पहिचान खुल्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम, उमेर र ठेगानासमेत फेसबुकमा सार्वजनिक गरिएका सामग्री आएको अछाम प्रहरीको भनाइ छ ।