• १५ वैशाख २०८१, शनिबार

समावेशी सांस्कृतिक कार्यक्रम

blog

काठमाडौँ, फागुन २९ गते । १३ औँ अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा राजधानीमा समावेशी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । 

समावेशी सांस्कृतिक कार्यक्रममा डाउन सिन्ड्रोम समाज नेपालद्वारा सञ्चालन गरेको सत्यम् दिवा सेवा केन्द्रमा आबद्ध तथा अन्य डाउन सिन्ड्रोम प्रभावित बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुभयो । 

सैनिक श्रीमती सङ्घका अध्यक्ष सुनिता शर्माले उद्घाटन गर्नुभएको सांस्कृतिक कार्यक्रममा डाउन सिन्ड्रोम प्रभावित बालबालिका तथा किशोर किशोरीले तामाङ सेलो, मारुनी तथा माइकल ज्याक्सनको गीतमा नृत्य र बेन्जु लामाले गीतारको धुनबाट नेपाली गीत प्रस्तुत गर्नुभएको थियो । भने रिता दुवालले कुमारी नृत्य प्रुस्तुत गर्नुभयो । 

सो अवसरमा अभिनेतृ ऋचा शर्माले अवसर पाए डाउन सिन्ड्रोम अपाङ्गता भएका बालबालिका पनि प्रतिभा प्रस्तुतिमार्फत आत्मनिर्भर बन्न सक्ने क्षमता भएको अनुभव सुनाउनुभयो ।

समाजका अध्यक्ष शिला थापाले समावेशी सांस्कृतिक कार्यक्रममार्फत करिब एक लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । उहाँले डाउन सिन्ड्रोमबाट प्रभावित बालबालिका तथा किशोर किशोरीका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्न करिब पाँच करोड रुपियाँको व्यवस्थापन कोष स्थापना गर्ने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना भइरहेको समेत जानकारी दिनुभयो  ।