• १३ मंसिर २०८१, बिहिबार

महोत्सवमा दर्शकको लोभलाग्दो भिड

blog

महोत्सवमा सहभागी दर्शकहरु ।

बिन्दु थापा 

पाल्पा, फागुन २८ गते । तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम तानसेन महोत्सव २०८० मा अवलोकनकर्ताको लोभलाग्दो भिड देखिएको छ । महोत्सवको ९ दिनमा २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाइ छ ।

आयोजक तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहाका अनुसार  महोत्सवको नवौँ दिनसम्म २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । कृषि पर्यटन, उद्योग र व्यापार, प्रवर्धन गर्दै समृद्ध तानसेन बनाउने उद्देश्यले आयोजना गरिएको महोत्सव फागुन १९ गतेदेखि सुरु भएको थियो । अहिलेसम्म सभ्य र भव्य रूपमा महोत्सव सञ्चालन भइरहेको उपप्रमुख गाहाले जानकारी दिनुभयो । 

सांस्कृतिक संयोजक तानसेन नगरपालिकाका कार्यपालिका सदस्य सबिता भट्टराईले महोत्सवमा दर्शकको उत्साहपूर्ण उपस्थिति रहेको बताउनुभयो । महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति देखाउँदै आएका छन् । 

विभिन्न समुदायका खाना स्टलहरू, बहुराष्ट्रिय कम्पनीका उत्पादनको स्टल, मनोरञ्जनात्मक बाल उद्यान, पुराना मौलिक परम्परा बोकेको विभिन्न किसिमका स्टलहरू महोत्सवको मुख्य आकर्षण रहेका छन् ।

खस्किँदै गरेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यसाथ आयोजना गरिएको महोत्सव फागुन २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।