लेखनाथ समाचारदाता
लेखनाथ, फागुन २८ गते । पोखरा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गरी आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । सो अवसरमा पृथ्वीचोकमा आर्ट ग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितको पोखराघर शिलान्यास गरिएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार बिहान पोखराघर शिलान्यास गर्नुभएको हो । ‘पोखराघर’ फगत एउटा घर नहुने जनाउँदै उहाँले यसले समग्र पोखराको परिचय दिने उल्लेख गर्नुभयो । महानगरले महेन्द्रपुलमा रहेका पुस्तकालय र आर्ट ग्यालरीका भवन भत्काएपछि जनस्तरमा चर्काे विरोध भएको थियो । पोखराघरमा आर्ट ग्यालरी र पुस्तकालय व्यवस्थित रूपमा राख्ने योजना रहेको छ ।
पाँच तलाको लिफ्टसहितको सो भवन पुरानो ट्राफिक कार्यालयको भवन (गोलघर) भएकै ठाउँमा बन्ने जानकारी महानगर प्रमुख आचार्यले दिनुभयो । पोखराघर परम्परागत वास्तुकला र पछिल्लो प्रविधि दुवैको समुचित प्रयोगबाट बन्ने भएको छ ।
“जीर्ण भवन भत्काएर महानगरले नै व्यवस्थापन गरी चलिरहेका आर्ट ग्यालरी र पुस्तकालय अब नयाँ भवनमा रहने छन्,” उहाँले भन्नुभयो, “मान्छेलाई कुन बेला किच्ने हुन् भन्ने जस्ता संरचना राखेर पनि भएन, समग्र पोखरेलीले गर्व गर्नलायक हुने गरी पोखराघर बन्ने छ ।” प्रमुख आचार्यले पोखराघर पोखरा घुम्नेका लागि विस्तृत जानकारी दिने महत्वपूर्ण स्थल बन्ने अपेक्षा गर्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी नहुने उल्लेख गर्नुभयो ।
भवन निर्माण कम्पनी कोजु इन्जिनियरिङ/आरुषी/एबिसी जेभीका सञ्चालक होमनाथ ढकालले निर्धारित समयभन्दा पाँच महिनाअगाडि नै भवन निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो । पोखराघर निर्माणका लागि निर्माण कम्पनीसँग भ्याटबाहेक पाँच करोड एक लाख ४६ हजार रुपियाँ लागतमा सम्झौता भएको छ । पोखराघरको निर्माण १८ महिनामा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
अन्डर ग्राउन्डसहित पाँच तलाको भवनमा पार्किङ बनाइने छ । भवनको पहिलो तलामा कोसेलीघर र सूचना केन्द्र रहने छन् । दोस्रो तलामा पुस्तकालय र बैठक हल हुने छन् भने तेस्रो तलामा आर्ट ग्यालरी बनाइने छ । पाँचौँ तलमा घण्टाघर बनाइने छ ।
महानगरपालिकाको स्थापना दिवसका अवसरमा खुइतेखोला (घट्टेखोला) पुल शिलान्यास गरिएको छ । पोखरा–१९ को लामाचौर माछापुच्छ«े सडकखण्डमा पर्ने खुइतेखोला (घट्टेखोला) मा दुई करोड ८२ लाख ९७ हजार रुपियाँ लागतमा मोटरेबल पुल बन्न लागेको हो । महानगर स्थापना दिवसकै अवसरमा आइतबार बिहान आयोजित रक्तदानमा ५७ युनिट रगत सङ्कलन भएको थियो । महानगरले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मानसमेत गरेको छ ।