• १३ मंसिर २०८१, बिहिबार

सहमतिपछि अवरुद्ध सडक सुचारू

blog

दिवाकर पोख्रेल

देउखुरी, फागुन २७ गते । पूर्वपश्चिम राजमार्गको दाङखण्ड अवरुद्ध भएको सडक चार घण्टापछि सुचारु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका थिए।

दिउँसो साढे २ बजेबाट आफन्तहरू राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि सवारी साधन चल्न सकेको थिएन । दुर्घटनाको छानविन गरेर चालकलाई हदैसम्मको कानुनी कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति लगायतको माग राख्दै राजमार्ग अवरुद्ध गरेका मृतक परिवारका सदस्य सहमतिमा आएका छन् ।

मृतकका दुई सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने, श्रीमतीलाई रोजगारी दिलाउन पहल गर्ने सहमति जुटेपछि अवरुद्ध राजमार्ग सुचारु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाइते अटोरक्सिा चालक लमही नगरपालिका ७ निवासी ३५ वर्षीय विष्णुबहादुर थापाको मृत्यु भएको थियो । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदैगरेको प्र ३९०१०२२ च १७५७ नम्बरको स्कारपियो र फरक दिशाबाट आउँदैगरेका रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटरसमेत ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते स्कुटीचालक लमही नपा ७ हसनापुर बस्ने वर्ष २१ को विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। मोटरसाइकल चालक राजपुर गाँउपालिका ३ निवासी २२ वर्षीय दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा ६ निवासी १९ वर्षीय मनिष सार्की, अटोमा सवार सोही ठाउँका ५५ वर्षीय हरी पुन, भारत उत्तरप्रदेश बिहार जिल्ला खगरीयाका ४० वर्षीय पंकज सहि र भारत उत्तरप्रदेश रामपुर निवासी ५० बर्षीय कश्मरि सहि घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।