फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २७ गते । नेकपा (एमाले) ले गण्डकी प्रदेशमा सरकार गठनको पहल थालेको छ । केन्द्रमा फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएपछि एमालेले यहाँ सो पहल थालेको हो ।
अनौपचारिक रूपमा सरकार परिवर्तनको पहल भए पनि आइतबारबाट एमालेले औपचारिक रूपमा सरकार गठनको पहल आरम्भ गरेको जनाएको छ । गण्डकी प्रदेशसभा संसदीय दलको आइतबार भएको बैठकले गण्डकी प्रदेशमा सरकार निर्माणको प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि वातावरण निर्माण गर्न सबैलाई आह्वान गरेको छ ।
बैठकले संसदीय दलका नेता खगराज अधिकारीलाई परिवर्तित परिस्थितिमा दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्ने जिम्मासमेत दिएको छ । एमालेले गण्डकी प्रदेश सरकार कामचलाउ बनिसकेकाले दीर्घकालीन महत्वका निर्णय नगर्न भनेको छ । बैठकको निर्णयमा भनिएको छ, “सरकार कामचलाउ भएको अवस्थामा दीर्घकालीन असर पर्नेखालका कुनै पनि निर्णय नगर्न साथै त्यस्ता कुनै पनि काम, कारबाही अगाडि नबढाउन सरकारलाई सचेत गराउँदछौ ।”
एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सत्ता गठबन्धनको ठुलो दल भएकाले एमालेले सरकार गठनको अगुवाइ र पहल गर्नु स्वाभाविक हुने बताउनुभयो । “बाहिर मध्यावधि हुने भन्ने हल्ला सुनिन्छ, हामी त्यो परिकल्पनै गर्दैनौँ । सहज र स्वाभाविक रूपमा सरकार गठन हुन्छ” उहाँले भन्नुभयो ।
सरकारको नेतृत्व र विपक्षमा जो रहे पनि प्रदेश सरकारको स्थायित्व पहिलो कुरा भएको उहाँको भनाइ छ । सङ्घकै गठबन्धनअनुसार प्रदेशमा सरकार बन्ने उहाँको भनाइ छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२ सांसद छन् । गठबन्धनमा रहेको माओवादी केन्द्रका सभामुखसहित आठ र एकीकृत समाजवादीका एक सांसद छन् । सबै मिल्दा पनि सरकार गठनका लागि एमाले, माओवादीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ आवश्यक पर्छ ।
सङ्घमा २१ गते सत्ता गठबन्धनमा बदलाव आएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २२ गते माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । आफ्ना मन्त्री बर्खास्त भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
गण्डकीमा माओवादी केन्द्रले समेत मुख्यमन्त्रीमा दाबी गरेको छ । केन्द्रमा आन्दोलनमा रहेको राप्रपाले सरकारमा जाने नजाने केही निर्णय लिएको छैन । सरकारको समीकरणमा गडबडी भएपछि गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।