• १४ असोज २०८१, सोमबार

पालिकागानसहित स्थापना दिवस सम्पन्न

blog

कोकिला भण्डारी

धनकुटा, फागुन २७ गते । साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँ कार्यपालिकाको आठौँ स्थापना दिवस सम्पन्न भएको छ । 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दालिको अध्यक्षतामा सम्पन्न दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकाको पालिका गान र पालिकाको लोगो सार्वजनिक गरिएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री राईले एक कार्यक्रमबिच पालिकागान र लोगो सार्वजनिक गर्नुभयो । अहिले चलेको संसद्ले केही गर्न नसक्ने बताउँदै महिलाको आरक्षण सिट प्रत्यक्ष निर्वाचन प्रणालीमै सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । 

पालिकाको गौरवगान र लोगो सार्वजनिक गरेर पालिकाले नेपालको सङ्घीयतामा आफ्नो उपस्थिति जनाएको उहाँको भनाइ छ । सो अवसरमा पालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, जयराम श्रेष्ठ, सूर्यबहादुर भण्डारी, सुवास श्रेष्ठ, गुणराज भट्टराईलगायतलाई दोसल्लाबाट सम्मानित गरिएको छ ।

यसैगरी वरिष्ठ गायक कृष्णभक्त राई, पालिका गीत तथा लोगो छनौट समितिका गीतकार रमेशचन्द्र अधिकारी, कवि केजी सुब्बा, कलाकार डिल्लीकृष्ण आले, पालिका लोगो डिजाइनर कलाकार मुकुन्द प्रयास, पालिका गान गीतकार–सङ्गीतकार नन्दु राई, गायिका जुनी राई, तथा गायक गायिकालाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।