• ११ मंसिर २०८१, मङ्गलबार

मिथिला माध्यमिक परिक्रमा सुरु

blog

मिथिला माध्यमिक परिक्रमाको श्रद्धालु भक्तजनहरू । तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र  

महेन्द्रनगर (धनुषा), फागुन २७ गते । १८ औँ शताब्दीदेखि चल्दै आएको ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सुरु भएको छ । यो परिक्रमा १५ दिनसम्म चल्ने गर्दछ । १५ दिने ऐतिहासिक धार्मिक परिक्रमामा नेपाल र भारतका हजारौँ भक्तजनहरू सहभागी हुने गर्दछन् । 

मिथिलाको इतिहासमा प्रत्येक पर्व तथा जन्मदेखि मृत्युसम्मको गीत छन् । त्यसैगरी मिथिला माध्यमिक परिक्रमाको पनि गीत छ । तर हालसम्म यसको कुनैपनि रेकर्ड नभएकोले यस वर्ष जनकपुरधामको नटराज प्रोडक्सन हाउसद्वारा मिथिला माध्यमिक परिक्रमको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वर भारतका प्रख्यात कलाकार अमन पाण्डे र जनकपुरधामको चर्चित गायक आर.बी रायले दिनुभएको छ भने सङ्गीत रोशन मिश्रले दिनुभएको छ । गीत सङ्कलन मिथिलेश झा द्वारा गरिएको छ जस्मा १५ दिनको परिक्रमाको महत्वको बारेमा बताइएको छ । 

“देशमा तीन तहको सरकार भएपनि कला संस्कृति क्षेत्रमा सार्थक लगानी देखिएको छैन” प्रोडक्सनका हाउसका सञ्चालक एवम् सङ्गीतकार रोशन मिश्र बताउनुहुन्छ । "मिश्रका अनुसार मधेश प्रदेशमा कला साहित्य क्षेत्रमा काम गर्न चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड र मधेश प्रज्ञा प्रतिष्ठान रहेपनि सांस्कृतिक प्रोत्साहन गर्न केही नगरेकोले आफ्नो क्षमता अनुसार हामीले गरेका छौँ", उहाँले उल्लेख गर्नुभयो । 

नेपाल र भारत दुई देशबिचको सम्बन्ध युगौंयुगदेखि चल्दै आएको ज्वलन्त उदाहरण मिथिला परिक्रमा हो । कोशी, गण्डक, गङ्गा बृहत् मिथिला परिक्रमा क्षेत्र भित्र पर्ने गरेको छ । यो परिक्रमा गरेपछि सम्पूर्ण मनोकामना पुरा हुने विश्वास जानकी मन्दिरका मह्न्थ रामतपेश्वर बताउनुहुन्छ । 

त्यसैगरी यो परिक्रमा गरेर मोक्ष प्रप्ती हुने विश्वासका साथ १५ वर्षदेखि लगातार परिक्रमा घुम्दै आइरहनुभएकी जनकपुरधामकी पट्टरानी माइजी भन्नुहुन्छ, "मधेशको महाकुम्भ मानिने यो परिक्रमा धनुषा जिल्लाका कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट डोलाको अगुवाइमा ठेरा, जमुनिया, बेंगाशिपुर हुँदै जनकपुरधामको रत्नसागर मन्दिरसम्म पुग्ने गरेको छ । त्यसपछि माता जानकीको दर्शन गर्दै रातीको वास जनकपुरधाम उपमहानगरपालिका का वार्ड नं. १२ मा रहेको हनुमानगढीमा विश्राम गर्नेगर्छ । त्यसपछि भारतको कल्याणनेश्वर र गिरिजास्थान, गर्दै नेपालको मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ, धनुषाधाम, सतोखर, औरही हुँदै फेरी भारतको करुणास्थान, बिसौलपछि फेरी जनकपुरधाममा पुगेर समापन हुनेगर्छ । परिक्रमाको भोली पल्लट जनकपुरधाममा होली मनाउने चलन छ ।"

१३३ किलोमिटरको दुरी १५ दिनमा नाङ्गो खुट्टा हिँडेर तीर्थ स्थलसम्म पुग्ने गर्नुहुन्छ । १५ दिनसम्म मात्रै एक छाक असिद्ध एवम् एक छाक चोखो खाने कुरा मात्रै खाने गर्दछन् । ठाउँ ठाउँमा भजन कीर्तन जय सीयारामको नारा लगाउँदै भक्तजनहरू जाने गर्छन् । यो परिक्रमा नेपालकै सबैभन्दा लामो परिक्रमा छ ।