• १३ असोज २०८१, आइतबार

एसियाली छनोट खेल्ने तेक्वान्दो टोली चीन जाँदै

blog

चीन जाने तेक्वान्दो टोली ।

काठमाडौं, फागुन २७ गते । फ्रान्सको पेरिसमा आयोजना हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ ।

छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।

प्रत्येक तौलसमूहमा पहिलो र दोस्राे हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू हुनुहुन्छ । छनोट खेल मार्च १५ र १६ तारिखमा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ ।


पेरिस पारालिम्पिक छनोटअन्तर्गत के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुनुहुन्छ । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रशिक्षकमा कविराज नेगी लामा रहनुभएको छ । मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्नेछ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले आइतबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।