• १३ साउन २०८१, आइतबार

बेपत्ता पौडेल खाेज्न प्रहरी टोली परिचालन

blog

धरानबाट बेपत्ता भएका अनुप पाैडेल ।

जयकृष्ण यादव 

इनरुवा, फागुन २७ गते । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-१ हुंगा घर भएका २५ वर्षीय अनुप पौडेल धरानबाट बेपत्ता भएका छन् । सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ् कलेजमा अध्ययनपश्चात् कामको सिलसिलामा फागुन ४ गते धरानबाट बेपत्ता भएका हुन् ।

परिवारिक स्रोतका अनुसार कामको सिलसिलामा धरान ८ लांघाली चौकको डेरामा बस्दै आएका पौडेल फागुन ४ गतेबाट सम्पर्कविहीन भएका थिए । बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय धरानमा फागुन ११ गते खोजतलास गरिदिन परिवारले उजुरी दिएको छ । 

बेपत्ता भएका पौडेलका बुवा अनन्त पौडेलका अनुसार छोरा पढ्न धरान आएको र कामको क्रममा सम्पर्कविहीन भएपछि खोजतलासका लागि आफू धरान पुगेको र प्रहरीमा उजुरी गरेको बताउनुभयो । 

प्रहरीले खोजी भइरहेको प्रतिक्रिया मात्रै दिएको तर हाल छोरा के कुन अवस्थामा भन्ने बारेमा केही जानकारी नदिएकाले चिन्तामा डुबेकाे बताउनुभयो । उता इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार बेपत्ता वा हराएको भनिएको पौडेलको खोजतलास र अनुसन्धानका लागि प्रहरी निरीक्षक भीमराज राईको नेतृत्वमा पाँच सदस्य प्रहरी टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाका बारेमा खोजतलासका लागि उजुरी आएपछि प्रहरीले खोजी कार्यलाई तीव्र पारिए पनि हालसम्म फेला नगरेको प्रतिक्रिया दिनुभयो ।