• १३ साउन २०८१, आइतबार

९१ हजार बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप

blog

दादुरा–रूबेलाविरुद्धको खोप लगाउँदै बालबालिका ।

मीना कँडेल

कावासोती, फागुन २७ गते । पूर्वी नवलपरासीमा दादुरा–रूबेलाविरुद्धको खोप अभियानअन्तर्गत ९१ हजार बालबालिकालाई खोप प्रदान गरिएको छ ।

जिल्लाका विभिन्न खोप केन्द्रमा सञ्चालन गरिएको खोप अभियानमा १०३ प्रतिशत बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाको ९२ वटा वडामा फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिराम भट्टराईले खोप अभियानमा अहिलेसम्म जिल्लाभर ९१ हजार दुईसय ३९ जना बालबालिकालाई खोप लगाइएको   बताउनुभयो । 

जसमध्ये जिल्लाका पालिका अन्तर्गत गैंडाकोट नगरपालिकामा १९ हजार पाँचसय ६६, देवचुली नगरपालिकामा १५ हजार तीनसय १८, कावासोती नगरपालिकामा २० हजार ९२, मध्यबिन्दु नगरपालिकामा १४ हजार तीनसय १८, विनयीत्रिवेणी गाउँपालिकामा १० हजार १०१, हुप्सेकोट गाउँपालिकामा छ हजार तीनसय १७, बुलिङटार गाउँपालिकामा दुई हजार आठसय एक, बौदिकाली गाउँपालिकामा दुई हजार सातसय २६ जना बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइएको छ ।

जिल्लामा दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म छ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको छ । खोप अभियानमा जिल्लाका सातसय खोप केन्द्रमा सातसय स्वास्थ्यकर्मी, चारसय स्वयंसेवक खटिएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । नवलपुरमा लक्ष्यअनुरुपको बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो ।

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन भएको छ । उहाँले भन्नुभयो, “समुदायमा दादुरा–रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्या यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पुगाउन अभियान सञ्चालन गरिएको छ ।” देवचुली नगरपालिकाका दुई स्वास्थ्य केन्द्र र कावासोती नगरपालिकाको एक स्वास्थ्य केन्द्रमा फागुन २९ गते छुट बालबालिकालाई खोप लगाइने प्रमुख भट्टराईले बताउनुभयो ।