• १६ भदौ २०८१, आइतबार

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्नुहुँदै । तस्विरः राष्ट्रपतिको सचिवालय

गोरखापत्र अनलाइन 

काभ्रे, फागुन २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी बनाउन सकिए मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताउनुभएको छ । 

मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको आइतबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । संविधानको भावना तथा सङ्घीयताको मर्मअनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो । ‘कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ’ राष्ट्रपति पौडेलले भन्नुभयो, “स्थानीय स्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरिव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसर ढोका खुल्दछ । ” 

उहाँले त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भए पनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो  ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो  ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं भन्नुभयो ।  “आज ती सोचहरूले कति साकार रूप लिन गइरहेका छन् र लिन सक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु” राष्ट्रपति पौडेलले भन्नुभयो । 


राज्यको पुनर्संरचनाको क्रममा स्थानीय तहको गठन भइ सङ्घीयता कार्यान्वयन भएको यो अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवा सुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधासम्पन्न प्रशासकीय भवन बनाएकोमा उहाँले नगरपालिकाको सराहना गर्नुभयो । 

“उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने सम्भावना छ, यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुशी लागेको छ, यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु” राष्ट्रपति पौडेलले भन्नुभयो । 

मुलुक सङ्घीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पुर्‍याएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उहाँको भनाइ छ । यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पुगाइ शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको उहाँले बताउनुभयो । 

मिलेको भूगोल, लेकबेंसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दूरीमा रहेकाले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवर्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यस नगरपालिकाले उपयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।