• १३ साउन २०८१, आइतबार

एकै दिन बने १२ सय ५० जना अल्पकालीन भिक्षु

blog

लुम्बिनीमा आयोजना गरिएको प्रव्रज्या कार्यक्रम । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, फागुन २७ गते। लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रव्रज्या कार्यक्रम गरिएको थियो।

मायादेवी मन्दिर परिसरमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षुले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिला पालना गरी  प्रव्रज्यामा सहभागिता जनाएका हुन्।

अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा १२ सय ५० जनालाई कुलपुत्र  प्रव्रज्या  गराइएको हो। 

अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभएको हो।

अल्पकालीन भिक्षुले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्छ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ।

भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्नेछ। फागुन १६ गतेदेखि सुरू भएको  प्रव्रज्यामा लुम्बिनीमै आएर १२ सय ५० जनाले केश मुण्डन गरेर चीवर प्राप्त गरेका हुन्।

अखिल नेपाल भिक्षु महासङ्घका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवर्धन र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्नका लागि १२ सय ५० जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) बनाइएको बताउनुभयो।

राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहारले जनाएकाे छ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा पाँच सय जनालाई  प्रव्रज्या गराइएको थियो। प्रव्रज्या अन्तर्गत आइतबार भिक्षाटन गरिएको छ भने चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन गरिने जनाइएको छ।