• १३ साउन २०८१, आइतबार

उपप्रधान एवं गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

blog

प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछाने । तस्बिर : मन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रधान कार्यालयको निरीक्षण गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सङ्गठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहको बताउनुभयो । त्यसको आफूले अन्त्य गर्ने बताउनुभयो ।


पहिलोपटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरुवाका क्रममा आफूले गरेको उहाँले स्मरण गर्नुभयो । “त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ” उहाँले भन्नुभयो ।  

“कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, म गर्नेछु” मन्त्री लामिछानेले भन्नुभयो ।


कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न आफू गृह मन्त्रालयमा नआएको उहाँले बताउनुभयो । आफूलाई केही फरक गर्ने चाहना रहेको चर्चा गर्नुभयो । नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आफू जिम्मेवारीमा आएको उहाँले बताउनुभयो । 

“आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस्” उपप्रधानमन्त्री लामिछानेले थप्नुभयो, “नीति र विधिभित्र रहेर काम गर्नुहोस् । कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुहोस् । मबाट तपाईँहरूको काममा हस्तक्षेप हुने छैन ।”


व्यक्तिलाई केन्द्रित नगरी अधिकांशको हित हुनेगरी दीर्घकालसम्मका लागि नीति बनाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । हरेक नागरिकले सुरक्षित महसुस हुनेगरी प्रहरीले सेवा दिन आवश्यक रहेको उहाँको निर्देशन छ । “सानालाई ऐन र ठुलालाई चैनको अवस्था कुनै हालतमा पनि सैह्य हुँदैन” उहाँले थप्नुभयो, “अनुसन्धान निष्पक्ष र बस्तुनिष्ठ हुनुपर्छ । आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।”

कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदैगर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ उहाँले भन्नुभयो, “कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् ।”  


तस्कर, गुन्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्न नपरोस् भन्दै मन्त्री लामिछानेले भन्नुभयो, “प्रहरी सङ्गठनका विद्यमान समस्या समाधानमा इमान्दार प्रयास गर्ने छु ।” 

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको साङ्गठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराउनुभयो । त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।