• २१ वैशाख २०८१, शुक्रबार

सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने

blog

फाइल तस्बिर ।

कमल खत्री

नेपालगन्ज, फागुन २७ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ । 

मैटहवा माविको खेल मैदानमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा करिब चार सय दर्शक क्षमता रहेको प्यारापिट बन्न लागेको हो । उक्त प्यारापिट निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट चार लाख रुपियाँ खर्च गरेर प्यारापिट निर्माण हुँदैछ । 

लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले प्यारापिटको जगको शिलान्यास गरेसँगै निर्माण कार्य अगाडी बढेको छ । प्यारापिट निर्माणसँगै खजुरा गाउँपालिकाको सैनिक क्षेत्रमा फुटबल खेलका गतिविधि आयोजनामा सहज हुने स्थानीयहरूको विश्वास रहेको छ । सैनिकमा रहेको जय किसान स्पोर्टस क्लबले यहाँ फुटबलका गतिविधिहरू आयोजना गर्दै आएको छ । 

खजुरा–१ स्थित मैटहना माविको खेल मैदानमा सुरुआती चरणमा पूर्व तर्फ प्यारापिट निर्माण गरिदैँछ । निसान विल्डर्सले उक्त योजना निर्माणको ठेक्का पाएको छ । ४४ लाख रुपियाँ बजेटमा पहिलो चरणको काम हुन लागेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनीवर क्षेत्रीले बताउनुभयो । प्यारापिटको सम्पूर्ण कार्य सम्पन्न गर्नको लागि करिब दुई करोड ५० लाख रुपियाँ खर्च हुने उहाँले बताउनुभयो  ।

सैनिकका जनताको भावना अनुरूप प्यारापिट निर्माणको लागि बजेट व्यवस्थापन गरिएको लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले शिलान्यास गरेको छु । यस योजनाको बाँकी काम दुई वर्षमै सम्पन्न गर्ने विश्वास दिलाउन चाहन्छु । गाउँ विकास हुन त्यहाँको हरेक क्षेत्रको विकास हुनु जरुरी छ । युवाहरूलाई स्वस्थ बनाउन खेलकुद अति आवश्यक छ । सैनिक क्षेत्रमा खेलकुदमा धेरै आकर्षण छ । त्यो कुरालाई ध्यानमा राखेर हामीले बजेट विनियोजन गरेका हौँ ।’’ 

खजुरा सैनिकमा हरेक वर्ष पूर्व राष्ट्रिय खेलाडी श्याम थापा स्मृति कप फुटबल प्रतियोगिता हुने गरेको छ । प्रतियोगिताको दौरान दर्शकलाई बस्न निकै कठिन हुने गरेको थियो । अब फुटबल प्रतियोगिता हुँदा दर्शकहरूलाई सहज रूपमा खेल हेर्न मिल्नेछ । मैटहवामा प्यारापिट निर्माणमा सक्रिय भएर लागेका वडा नम्बर–१ का अध्यक्ष मनवीर क्षेत्रले प्रदेश सभासद् कुर्मीलाई धन्यवाद दिदैँ बाँकी कामको लागि आगामी वर्षमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘सैनिक फुटबलले चिनिएको गाउँ पनि हो । यहाँबाट थुप्रै प्रतिभाशाली खेलाडी जन्मिसक्नु भएको छ । तर यहाँ एउटा गतिलो रङ्गशाला छैन । मैटहवा माविमै भएको मैदानलाइ हामीले मिनी रङ्गशालाको रूपमा विकास गर्ने योजना बनाएको छौँ । त्यसमा सबैको साथ र सहयोगको आवश्यकता छ ।’’

योजना निर्माणको ठेक्का पाएको कम्पनी निसान बिल्डर्स प्रमुख मुकेश खड्काले करिब चार महिना पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित काम अगाडी बढाएको बताउनुभयो । 

मैटहवा माविको खेल मैदानमा प्यारापिट निर्माणमा सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक शिव शङ्कर रोकाय क्षेत्रीले प्रदेश सभा सदस्य कुर्मीलाई धन्यवाद दिदैँ विद्यालयको अन्य भौतिक पुर्वाधारको स्तर उन्नतिमा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।  

सैनिकमा निर्माण हुन लागेको प्यारापिट सहितको खेल मैदान तेस्रो हो । यसअघि खजुराको डी गाउँको खेल मैदान र शुक्र भलिबल रङ्गशालामा प्यारापिट निर्माण गरिएको छ ।