• १६ भदौ २०८१, आइतबार

धर्मलाई राजनीतिसँग जोडेर हेर्नुहुँदैन : पूर्व राष्ट्रपति यादव

blog

पूर्व राष्ट्रपति डा.रामवरण यादव । फाइल तस्विर

गोरखापत्र अनलाइन

धनुषा, फागुन २७ गते । प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

उहाँले धार्मिक कार्यक्रममा राजनीति गर्नेहरुलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिक प्रभाव बढ्दै गइरहेको बताउनुभयो । धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको उहाँको भनाइ छ । उहाँले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नुपर्छ । धार्मिक कार्यक्रममा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ नकि यस्ता कार्यक्रममा नेता कार्यकर्तालाई बोलाएर तामझाम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागीमध्येको उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनीता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटन हबको रुपमा विकास गर्न तत्पर रहेको बताउनुभयो । उहाँले मधेशलाई धार्मिक पर्यटन हबको रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताउनुभयो । यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थललाई व्यवस्थित तुल्याउन बजेट छुट्याएको मन्त्री यादवले जानकारी दिनुभयो ।