• ११ मंसिर २०८१, मङ्गलबार

चार राउण्ड गोलीसहित दुई युवक पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, फागुन २७ गते । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीबाट चार राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–१, भेडियाहीका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८, शङ्करपुर बस्ने २४ वर्षीय रन्जित राम छन् । 

विशेष सूचनाका आधारमा परिचालित प्रहरीले बीआर ३० डब्लु ५८८३ नम्बरको भारतीय मोटरसाइकलमा रहेका मलङ्गवाका पोसन महरा रामलाई आठ एमएमको चार राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो । 

पोसनलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा बरामद भएको गोली रन्जित रामबाट लिएको बयान दिएपछि रन्जितलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो । 

सर्लाहीमा एक साताअघि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउण्ड गोली बरामद गरेको थियो । हतियार बोकेर हिँडेका दुई व्यक्ति भारततर्फ फरार भएका थिए ।