• १३ साउन २०८१, आइतबार

खोटाङमा तीन घर जलेर नष्ट

blog

फाइल तस्बिर ।

राजकुमार भट्टराई 

खोटाङ, फागुन २७ गते । खोटाङमा तीन वटा घर जलेर नष्ट भएका छन् । जङ्गलमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पाङ्ग्रेका सुमित्रा राईको दुई वटा घर र मतान जलेको छ। 

यस्तै, गाईवस्तुलाई खोले पकाउने क्रममा सल्किएको आगोले ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल नैसालाका मदन दाहालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय असोजे सामुदायिक वनमा लागेको डढेलोले सुमित्राको दुई तले दुई वटा घर र एक तले एउटा मतानको छानासमेत जलेको हो । एउटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय भबिन राईको बायाँ खुट्टा मर्किएको प्रहरीले जनाएकाे छ ।

सामुदायिक वनमा लागेको डढेलोले घर जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जना, प्रहरीचौकी बुइपाबाट २ जना, प्रहरी चौकी नुनथलाबाट २ जना र प्रहरीचौकी अर्खौलेबाट २ जना गरी २८ जनाको टोली खटिएका थिए । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि प्रहरीको टोली आ–आफ्नै कार्यालय फर्किएका छन् । 

यस्तै, घर नजिकै रहेको गोठमा गाईवस्तुका लागि खोले पकाउने क्रममा बालेको आगो सल्किँदा राखाबांदेलका मदन दाहालको ढुङ्गा माटोको पर्खाल र टिनको छाना भएको तीन तले घर जलेको हो । आगोले गुवाली जल्दा दुई वटा बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा दाहालको नगद ७० हजार, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, कागजपत्रलगायत जलेको प्रहरीले जनाएको छ ।