• २६ पुस २०८१, शुक्रबार

कृषिबाटै करोडपति

blog

धरान (सुनसरी),  फागुन २७ गते । कृष क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राई भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ । 

कृषिबाटै नाम र दाम कमाउनु भएको उहाँ भन्नुहुन्छ, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट वार्षिक करोडौंको कारोबार गर्दै आउनुभएको छ । कृषिबाटै उहाँले करोडौँको जग्गा जमिन जोड्नुभएको छ, भव्य घर बनाउनुभएको छ । कृषिबाट उहाँ आफूले मात्र कमाउनुभएको छैन, अरुलाई पनि रोजगारी दिनुभएको छ ।

कृषिकर्मबाटै उहाँले धरानमा अढाई बिघा जग्गा जोड्नुभएको छ भने बराहक्षेत्रमा करिब १५ बिघा किनिसक्नु भएको छ । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनुभएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाउनुभएको छ । उहाँको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्नुहुन्छ । 

त्यस्तै उहाँको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्नुहुन्छ भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्नुहुन्छ । उहाँले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पाल्नुभएको छ ।  उहाँले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नुभएको छ भने त्यससँगै माछा पनि पाल्नुभएको छ । 

उहाँको सोताङ अर्गानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उहाँले १६ जनालाई रोजगारी दिनुभएको छ । हालसम्म कृषिक्षेत्रमा उहाँको लगानी नै करोडौँ पुगिसकेको छ । उहाँले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहनुभएको छ । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु. १२ लाखको हाराहारीमा कमाइ भइरहेको उहाँ बताउनुहुन्छ । 

पचपन्न रुपियाँबाट सुरु 

अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपियाँ लगानीबाट भएको थियो । उहाँ भन्नुहुन्छ, “सुरुमा ५५ रुपियाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यही फैलिँदै अहिले करोडौंको भएको हो ।”

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बाबुले परम्परागत कृषि कर्म गर्दै आउनुभएको थियो । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देख्नुभयो । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाउनुभयो । “त्यसपछि मैले पनि १० रुपियाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उहाँ सम्झिनुहुन्छ, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपियाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागिपरेको हुँ ।”

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उहाँका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाल्नुभयो । पत्रपत्रिकामा कृषिका समाचार देख्नेबित्तिकै पढ्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थें, कतै पत्रपत्रिकामा कृषिका बारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।” 

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उहाँले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मान्नुभएन । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उहाँ अरुलाई पनि सिकाउनुहुन्छ । उहाँले केही वर्षअघि वसन्तटारमा रु. ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गर्नुभएको छ । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्नुहुन्छ । उहाँको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उहाँ भन्नुहुन्छ, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका–४ मा पर्ने वसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उहाँकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ । 

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्र्गानिक बनाउन निक्कै मिहिनेत गर्नुपरेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उहाँले किन यस्तो भयो ? भनेर कारण खोज्नुभयो । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ । 

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महसुस गरी उहाँले त्यसलाई सुधार्ने बाचा गर्नु भयो । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उहाँको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाल्नुभयो । जैविक वनस्पतीकै विषादी बनाउनुभयो । जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अर्गानिक खेतीकाे अभियन्ता बनेको हुँ ।’’ 

अर्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उहाँ भन्नुहुन्छ, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिनँ तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’

अहिले उहाँको पाइला पछ्याउँदै वसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्र्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्र्गानिक कृषि नै रहेको उहाँ बताउनुहुन्छ । वसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत बन्नुभएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेका छन् । परिवारसहित कृषिमै रमाइरहनुभएका राई भन्नुहुन्छ, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।” रासस