• १३ असोज २०८१, आइतबार

‘डा. ओम फाउन्डेसन’ द्वारा विजेता विद्यार्थीलाई पुरस्कार वितरण

blog

काठमाडौँ, फागुन २७ गते । ‘डा. ओम फाउन्डेसन’ले विद्यालयस्तरीय राष्ट्रव्यापी प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । शनिवार एक कार्यक्रमबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यमा विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाण पत्र तथा पदक प्रदान गरिएको हो ।

सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर फाउन्डेसनले धूमपान तथा सुर्ती सेवनविरुद्ध विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो । 

तीन वटै विधाका विजयी विद्यार्थीसहित उनीहरूका अभिभावक र शिक्षकलाई समेत शिक्षा सचिव सुरेश अधिकारी र फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै शिक्षासचिव अधिकारीले धूम्रपानले मानव स्वास्थ्यमा असर गर्ने मात्रै होइन त्यसले पारिवारिक तनाव, आर्थिक नोक्सानीसमेत पुर्‍य ाउने भएकाले त्यसबाट जोगिनु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

धूमपान, सुर्ती तथा मादक पदार्थको सेवनबाट सामाजिक वैरभाव, मनोविज्ञानमा असर पारिवारिक तनाव, वातावरण प्रदूषणलगायतका नकारात्मकता निम्त्याउने भएकाले विद्यार्थी समाजमा त्यसको रोकथामका लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो । 

विद्यार्थीले नियमित पाठ्यक्रमका साथै जीवनाेपयोगीका विषयमा अतिरिक्त क्रियाकलापअन्तर्गत सामाजिक सचेतनाका लागि गरेको मेहनतका प्रतिफलस्वरुप नतिजा प्राप्त भएको भन्दै पुरस्कृत विद्यार्थीहरूलाई बधाई तथा प्रतियोगितामा सहभागी विद्यार्थीलाई शुभकामना दिनुभयो ।  

त्यस्तै फाउन्डेसनका संस्थापक डा. ओममूर्ति अनिलले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुईहप्ते सचेतनामूलक अभियान ‘धूमपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ र ‘स्कुल हेल्थ प्रोग्राम’ ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरिएको जानकारी गराउनुभयो ।

यस अभियानमा करिब १८ सय जना व्यक्तिले धूमपान तथा सुर्ती सेवन त्याग गर्ने प्रतिबद्धता जनाउँदै फाउन्डेसनमा नाम दर्ता गराएको उल्लेख गर्नुभयो । 

फाउन्डेसनका अनुसार कविता प्रतियोगिताका विजेताहरूमा क्लिन्टन स्कुल चाबहिल काठमाडौँको कक्षा ६ की छात्रा सिद्धिका शाह, कोशी सेन्ट जेम्स आवासीय मा.वि. इटहरी कक्षा ७ की छात्रा पूर्णिमा गौतम, सेन्ट मेरिज उच्च मा.वि. ललितपुर कक्षा ७ की छात्रा इभा पौडेल, जोन डेवी उच्च मा.वि. महाराजगन्ज कक्षा ९ की छात्रा शाश्रिका खत्री र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सी.सी.आर.सी) बालकुमारी कक्षा १२ की छात्रा चाँदनी पाल छन् ।

धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देशमूलक कविता प्रतियोगितामा देशभरका विद्यालयका १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । उत्कृष्ट रचनाकारलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरिएको छ ।

त्यस्तै बाल चित्रकला प्रतियोगितामा दीप बोर्डिङ स्कुल बुटवल कक्षा ५ की छात्रा प्रिस्ति पुन र फिसटेल एकेडेमी सेकेन्डरी स्कुल पोखरा कक्षा ४ का छात्र डेभेश पहारी विजेता भएका छन् । साथै उपविजेताहरूमा निस्ट स्कुल लोकन्थली भक्तपुर कक्षा ४ की छात्रा पल्लवी भट्टराई, वेदिक स्कुल बालकोट भक्तपुर कक्षा ६ की छात्रा समृद्धि श्रेष्ठ, सल्यान पब्लिक स्कुल शङ्खमूल सल्यान कक्षा ६ की छात्रा एलिना बुढाथोकी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारी काठमाडौँ कक्षा ६ की छात्रा जेसिका थापा, साउथ जोन सेकेन्डरी स्कुल वीरगन्ज कक्षा ६ का छात्रा अङ्कित साह र ओम शान्ति एकेडेमी भरतपुर, चितवनका कक्षा ८ का छात्र सलिन आचार्य छन् ।

धूमपान र सुर्ती सेवनबाट सेवनकर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा पर्ने असर झल्काउने चित्रकला प्रतियोगितामा देशभरका कक्षा ८ सम्मका विद्यार्थीले भाग लिएका थिए । विजेता विद्यार्थीलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार र उपविजेतालाई प्रोत्सहानस्वरुप २ हजार ५ सय रुपियाँ तथा प्रमाण पत्र एवम्  पदक प्रदान गरिएको छ । 

यसैगरी धूमपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा देशैभरका कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी भएका थिए । सो प्रतियोगितामा काठमाडौँ मोडल कलेज बागबजार, काठमाडौँ प्रथम, सिद्धार्थ वनस्थली इन्स्च्यिुट काठमाडौँ द्वितीय र तृतीयमा ज्ञान ज्योति मा.वि. वीरगन्ज तथा पञ्चोदय मा.वि.धनगढीका विद्यार्थी विजयी भएका छन् ।  

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपियाँ नगद छ । तृतीय स्थानमा दुई वटा विद्यालयले समान अङ्क प्राप्त गरेका कारण पुरस्कार संयुक्तरूपमा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । सबै विधाका प्रतियोगिता ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गरिएको थियो ।