• २० असार २०८१, बिहिबार

दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान

बागमतीमा सतहत्तर प्रतिशत बालबालिकालाई खोप

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन २७ गते । अभियानका रूपमा सुरु गरिएको दादुरा–रुबेला रोगविरुद्धको खोप बागमती प्रदेशमा लक्ष्यको करिब ७० प्रतिशत बालबालिकालाई लगाइएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका १३ जिल्लामा गरी १२ लाख ३० हजार ६२४ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा लक्ष्यको ६६.८८ प्रतिशत अर्थात् आठ लाख २३ हजार ५८ जना बालबालिकालाई हालसम्ममा खोप लगाएको जनाएको छ ।

लक्षित समूहका बालबालिकालाई दादुरा–रुबेला खोप लगाएर दादुरा–रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट हुने सङ्व्रmमण न्यूनीकरण गर्न दादुरा–रुबेला रोगविरुद्धको खोप अभियानका रूपमा सञ्चालन गरिएको हो । प्रदेशको स्वास्थ्य निर्देशनालयका फोकल पर्सन उत्तमराज प्याकुरेलले नियमित खोपलाई असर नपर्ने गरी दादुरा–रुबेला रोगविरुद्धको खोप सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले अभियानका रूपमा फागुन १३ बाट सुरु भएको खोप अभियान अन्तर्गत छुटेकालाई आगामी चैत ७ सम्म लगाइने बताउनुभयो । 

सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने नेपाल सरकारले प्रतिबद्धता जनाए पनि बागमती प्रदेशमा नौ प्रतिशत कुनै पनि खोप नपाएका बालबालिका छन् । उहाँले बागमती प्रदेशमा कुनै पनि खोप नपाएका बालबालिकालाई शून्यमा झार्नुपर्ने र यसका लागि धेरै मेहनत आवश्यक भएको बताउँदै यस प्रदेशका चार जिल्लामा खोप अभियानका व्रmममा फरक रणनीति अपनाइएको बताउनुभयो । “९० प्रतिशतभन्दा बढी खोप लगाएका जिल्लामा अभियान सकिएको छ, छुटपुट भएकालाई स्वास्थ्यमा बोलाएर र खोजेर लगाइने छ,” उहाँले भन्नुभयो । 

दादुरा–रुबेलाविरुद्धको खोप अभियान चैत ७ सम्म चल्ने छ । सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा लक्ष्यको ९० प्रतिशतभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । सङ्ख्याका आधारमा यस प्रदेशमा सबैभन्दा बढी काठमाडौँमा पाँच लाख ९७ हजार ३०५ जना बालबालिकालाई र सबैभन्दा कम रसुवामा चार हजार ६३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । लक्ष्यको काठमाडौँ जिल्लामा तीन लाख ३१ हजार ९४० जना अर्थात् ५५.५७ प्रतिशत र रसुवामा तीन हजार ६५७ जना अर्थात् ९०.०१ प्रतिशतलाई खोप लगाइएको छ ।

यस प्रदेशमा चितवन, काठमाडौँ, भक्तपुर र ललितपुरसहित चार जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई र बाँकी नौ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई अभियान अन्तर्गत दादुरा–रुबेला खोप लगाइएको हो ।

आर्थिक वर्ष २०७९/८० मा भएको दादुरा महामारीमा यस प्रदेशको मकवानपुर, काठमाडौँ, चितवनसहित देशका विभिन्न जिल्लामा गरी एक हजार ३४९ बालबालिकामा दादुरा सङ्व्रmमण र एक जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका निर्देशक दीपक तिवारीले खोप लगाउन निमन्त्रणा कार्ड पठाइएको जानकारी दिँदै दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउन बालबालिका नछुटून् र नदोहोरिऊन् भनेर खोप लगाएपछि निर्वाचनमा जस्तै बायाँ हातको कान्छी औँलामा मार्कर मसीले चिह्न लगाइएको र खोप कार्ड उपलब्ध गराइएको बताउनुभयो । उहाँले गाउँमा भन्दा सहरी क्षेत्रमा बालबालिकालाई खोप लगाउन छुट्ने जोखिम बढी हुने बताउँदै नियमित खोपमा खोप लगाउन छुटेकालाई पनि खोप लगाइने बताउनुभयो ।

दुई हजारभन्दा बढी छुटे

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुलीमा सञ्चालित दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा दुई हजारभन्दा बढी बालबालिका खोप लगाउनबाट छुटेको पाइएको छ । उक्त अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्ष उमेर समूहका २१ हजार ७४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य भएकामा विभिन्न समस्याले दुई हजार १३० जना बालबालिका छुटेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार यही फागुन १५ देखि १९ सम्म सञ्चालन भएको खोप अभियानमा १८ हजार ९४४ जना बालबालिकाले खोप लगाए । खोप लगाउने अभियान सञ्चालन भएका बेला लक्षित समूहका बालबालिकामध्ये कसैलाई ज्वरो आएको र कसैले विविध समस्याका कारण औषधी खाइरहेको भेटिएकाले त्यस्ता बालबालिका खोप लगाउनबाट छुटेको कार्यालयका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो । “अब छुटेका बालबालिकालाई नियमित खोप सञ्चालन भएका बेला दादुरा–रुबेलाविरुद्धको खोप लगाउँछौँ,” उहाँले भन्नुभयो, “जिल्लाका नौ वटा पालिकामध्ये प्रत्येक महिना १ देखि ५ गतेसम्म तीन वटा पालिकामा र १० देखि १५ गतेसम्म छ वटा पालिकामा नियमित खोप सञ्चालन हुँदै आएको छ ।”

उहाँका अनुसार उक्त अभियान अन्तर्गत दादुरा–रुबेलाको सङ्व्रmमणलाई न्यूनीकरण गर्न जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा गरी ३४७ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको थियो । जिल्लामा नियमित खोप केन्द्र २२९ वटा छन् । 

उक्त अभियानमा बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन ३४७ जना स्वास्थ्यकर्मी र ६९४ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ ।