• ५ माघ २०८१, शनिबार

‘सशस्त्र प्रहरीप्रति जनताको भरोसा’

blog

बर्दीबास समाचारदाता

बर्दीबास, फागुन २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सीमा सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको भूमिका सराहनीय, प्रशंसनीय र अनुकरणीय भएको बताउनुभएको छ । उहाँले सीमा क्षेत्रको शान्ति सुव्यवस्थाका लागि सशस्त्र प्रहरीले अन्तरदेशीय अपराध नियन्त्रण, तस्करी निरुत्साहन र प्रभावकारी सुरक्षा परिचालन गरेकोले सीमावर्ती गाउँका बासिन्दा पनि आनन्दले सुत्न र निर्भिकतासाथ बाँच्न पाएको बताउनुभयो । 

बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २, छिन्नमस्ता वाहिनी मुख्यालयको २२ औँ स्थापना दिवसलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सीमा इलाकादेखि, राजमार्गसम्म र दैवी प्रकोपदेखि तस्करी नियन्त्रणसम्म उल्लेख्य योगदान गर्दै आएको सशस्त्र प्रहरीलाई आवश्यक पूर्वाधार र स्रोतसाधनको अभाव पूरा गर्न ध्यान नदिएको आरोप मुख्यमन्त्रीले सङ्घीय सरकारलाई लगाउनुभयो । तथापि मधेश प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीसँग समन्वय गरेर सिसी क्यामरा, गाडी, मोटरसाइकल जस्ता आवश्यक स्रोतसाधन उपलब्ध गराउने विश्वास दिलाउनुभयो । 

उहाँँले भन्नुभयो, “सशस्त्र प्रहरीप्रति मधेश प्रदेशका जनताको भरोसा र विश्वाश बढ्दै गएकोले सङ्घीय सरकारको मातहतमा रहे पनि सशस्त्र प्रहरीलाई शान्ति सुरक्षाको पाटोमा आवश्यक स्रोतसाधन उपलब्ध गराउन मधेश प्रदेश सरकार प्रतिबद्ध छ ।”

वाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जनताको हितलाई सर्वोपरि राखी सप्तरीदेखि पर्सासम्मका दक्षिणवर्ती सीमा इलाकामा सुरक्षा प्रत्याभूति गर्दै आएको जनाउनुभयो । जर्जर अवस्थामा रहेका ७३ वटा सीमास्तम्भ मर्मतसम्भार तथा रङ्गरोगन, सीमा सुरक्षा, अन्तरदेशीय अपराध एवं चोरी तस्करी जस्ता अपराध नियन्त्रण गर्दै आएको जानकारी उहाँले दिनुभयो । 

सदियौँदेखि सीमा क्षेत्रमा बसोबास गर्दै आएका जनताको भावना, धारणा एवं अनुभव र अनुभूतिबाट मात्र सीमा सुरक्षा प्रभावकारी बनाउन सकिने मान्यता अनुसार सशस्त्र प्रहरीले स्थानीयसँग कार्यक्रम सञ्चालन गर्दै आएको उदाहरण प्रस्तुत गर्नुभयो । यसै कडीमा भारतीय सीमासँग जुटेका मधेश प्रदेशको आठ वटै जिल्लाका १४३ वटा वडाध्यक्षसँग केही दिनअघि गरिएको अन्तव्रिर्mया उपलब्धिमूलक र मार्गदर्शक बनेको उहाँको भनाइ थियो । 

वाहिनीपति शाहले भन्नुभयो, “प्रभावकारी कार्यसम्पादन गरेको कारण सशस्त्र प्रहरी बलको देशभरका युनिटको मूल्याङ्कनका व्रmममा छिन्नमस्ता वाहिनी उत्कृष्ट ठहरिएको हो ।”  

स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेल तथा प्रतियोगितका सहभागीलाई पुरस्कार तथा ट्रफी प्रदान गरिनुका साथै खुकुरी नृत्य, झिझिया, साकेला, थारू जस्ता लोकनृत्यलगायतका विविध कार्यक्रमको आयोजना गरिएको थियो ।