• १३ मंसिर २०८१, बिहिबार

छ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

blog

भोजपुर, फागुन  २७  गते ।  अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । 

यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ ।

 पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो इस्पानको रड बिछ्याउने तथा फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको ‘साइट इन्चार्ज’ नारायण चौधरीले जानकारी दिनुभयो ।

निर्माणस्थलमा प्रायः सम्पूर्ण सामग्री आइपुगेको उहाँको भनाइ छ । व्यारिङ, केवल पाइपलगायत सामान भारतबाट ल्याउनुपर्ने भएकाले त्यो सामग्रीमात्र आउन बाँकी रहेको उहाँको भनाइ छ । “हामीले यहाँ पुनः मङ्सिरबाट काम थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले धनकुटातर्फको पहिलो इस्पानको ढलानको तयारी गरेका छौँ । विगतमा कोभिडलगायत कारणले काममा बाधा पुगेको थियो । यो ढलानको काम चाँडै सक्ने लक्ष्य छ ।”

फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ । यहाँ भ्याटसहित रु २२ करोड ७५ लाख २८ हजार सात सय लागतमा पुल निर्माण थालिएको हो । पुलको पहिलो इस्पानको लम्बाइ ३७ दशमलव ५५, दोस्रो इस्पानको लम्बाइ ८० मिटर र तेस्रो इस्पानको लम्बाइ ५८ दशमलव ३८ मिटर रहेको छ ।  हालसम्म रु  १० करोड २९ लाख ११ हजार छ  सय ४२ भुक्तानी भएको छ ।

 सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । विगतमा सोचेअनुसार प्रगति नदेखिए पनि हाल भने कामले निरन्तरता पाएको उहाँको भनाइ छ ।

“यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”

बीचमा धेरैपटक काम रोकिएर अलपत्र अवस्थामा रहेको पुल निर्माण पुनः सुरु भएपछि उत्साह थपिएको स्थानीयवासी समाजसेवी धनहर्क राईले बताउनुभयो । निर्माणको कामलाई चाँडो सम्पन्न गराउन सरकार पनि गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

“सुनवालुवा पुल हाम्रो बहुप्रतिक्षित योजना हो”, उहाँले भन्नुभयो, “सुुरुमा २६ महिनामा सम्पन्न गर्ने भनिएको थियो । तर काम भने अलपत्र बनेको थियो । हाल आएर काम सुरु भएको छ । अब भने पुल बन्छ भन्ने आशा जागेको छ । पुललाई समयमा सम्पन्न गराउन राज्य गम्भीर बन्न आवश्यक छ ।”

यो पुलले भोजपुरको हतुवागढी–६ होम्ताङ र धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगालाई जोड्ने छ ।  यो पुल सुरुमा २६ महिनामा सम्पन्न गर्ने सम्झौता भएको थियो । सो समयमा सम्पन्न नभएपछि चारपटक म्याद थपिएको थियो । यसको पछिल्लो थप भएको म्याद २०८० असार २२ गतेसम्म रहेको थियो । यो थपिएको म्याद पनि सकिएको छ । 

हाल कामलाई निरन्तरता दिएर म्याद थपको प्रक्रिया भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुमित ठाकुरले जानकारी दिनुभयो । हालसम्म यो पुल निर्माणको भौतिक प्रगति ७० प्रतिशत रहेको उहाँको भनाइ छ ।  भौगोलिक विगटताका कारण काम गर्न समस्या रहेको उहाँले बताउनुभयो । यो पुल पूर्णरूपमा सम्पन्न हुनका लागि अझै साढे दुई वर्ष समय लाग्ने उहाँको भनाइ छ ।

“हामीले पुल निर्माणको कामलाई निरन्तरता दिएका छौँँ”, उहाँले भन्नुभयो, “भौगोलिक विकटताका कारण काम गर्न कनिठाइ छ । एक वर्षमा चार महिनामात्र राम्ररी काम गर्न सकिन्छ । यसरी हेर्दा पुललाई पूर्णरूपमा सम्पन्न गराउन अझै साढे दुई वर्ष समय लाग्ने देखिन्छ । पुललाई चाँडो सम्पन्न गराउन हामीले कामको गति बढाएका छौँ ।”  रासस