• १३ मंसिर २०८१, बिहिबार

आत्मनिर्भरका लागि साबुन उद्योगमा महिला

blog

तनहुँ समाचारदाता

तनहुँ, फागुन २७ गते । तनहुँका म्याग्दे गाउँपालिकाले आवश्यक तालिम दिने मात्रै नभई उत्पादन भएका सामग्री बजारीकरण हुन थालेपछि महिलाले फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेका छन् । 

हातमा सिप नहुँदा फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । म्याग्दे गाउँपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साबुन बनाउने निःशुल्क तालिम पाएपछि उत्साहका साथ म्याग्दे गाउँपालिका–४, थुर्पका महिलाले उद्यमी बन्न सक्रियता देखाएका छन् । 

लघु घरेलु तथा साना र कुटिर उद्योग सञ्चालन गरेपछि सहज रूपमा आम्दानी गर्न सकिने भन्दै साबुन बनाउन सक्रियताका साथ १८ जना महिला लागेका छन् । कम लगानीमा साबुन उद्योग सञ्चालन गर्न सकिने भएकाले महिलाको त्यसमा आकर्षण बढेको छ । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन तालिम प्रदान गरिएको म्याग्दे गाउँपालिकाको उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । 

बिक्रीको प्रबन्ध पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादन गरिएको साबुनको बिक्रीका लागि सहज होस् भनेर पालिकाभित्रका सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीमा अनिवार्य रूपमा महिलाले उत्पादन गरेको साबुन प्रयोग गर्न लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

हातमा सिप भयो भने महिला अरूको भरमा निर्भर रहनु पर्दैन भनेर गाउँका महिलाहरू मिलेर साबुन उद्योग सञ्चालनमा ल्याइएको म्याग्दे साबुन उद्योगकी अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । दुई पटक गरेर १० दिनको तालिम दिएपश्चात् समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरूसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच आएको कोषाध्यक्ष लालुमाया मल्लले जानकारी दिनुभयो । बजारमा पाइने हार्पिकभन्दा सस्तोमा बिक्री गरिएकाले माग बढिरहेको कोषाध्यक्ष मल्लले बताउनुभयो । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दमौलीमा महिला उद्यमी सङ्घ नेपाल, तनहुँले शुक्रबार गरेको तीनदिने महिला उद्यमी प्रदर्शन एवं मेलामा म्याग्दे साबुन उद्योगबाट उत्पादित साबुन पनि बिक्रीका लागि राखिएको छ ।