• १६ भदौ २०८१, आइतबार

सुनको मूल्य छ हजारले बढ्यो, बिक्री न्यून

blog

काठमाडौँ, फागुन २७ गते । एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।

यस्तै मङ्गलबार पुनः बढेर एक लाख २३ हजार रुपियाँ पुगेको महासङ्घले जनाएको छ । बुधबार एक लाख २३ हजार पाँच सय रुपियाँ पुगेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख २५ हजार रुपियाँ पुगेको छ । फागुन लागेसँगै बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । फागुन ३ गते तोलाको एक लाख १६ हजार पाँच सय रुपियाँ रहेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा बढ्दै शुक्रबारसम्म बढेर एक लाख २५ हजार रुपियाँ पुगेको महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।   

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले रुस र युक्रेनको युद्धका कारण सुनको मूल्य बढ्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले आगामी दिनमा समेत थप बढ्ने देखिएको उहाँले जानकारी दिनुभयो । विगतका वर्ष लगनको सिजनमा ४० देखि ५० किलो सुन खपत हुने गरेकोमा अहिले दैनिक १५ देखि २० किलोमा झरेको उहाँको भनाइ छ ।