• १३ मंसिर २०८१, बिहिबार

नेपाल संकटको भूमरीबाट गुज्रदैछ : उपाध्यक्ष बादल

blog

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ।

रमेश विश्वकर्मा

गुल्मी, फागुन २६ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष थापाले देशमा समृद्धि र संगठनको विकाससँगै नेतृत्वको विकासका निम्ति एमालेले निर्धारण गरेको मिसन ८४ लाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । एमालेलाई एकल बहुमत ल्याउन र सत्तामा पुगाउन आग्रह गर्दै त्यसो नगरे जनजातिको समृद्धि समेत हुन नसक्ने जिकिर गर्नुभयो ।

३७ प्रतिशत मतदाता रहेका आदिवासीलाई आकर्षित नगरे बहुमत ल्याउन नसक्ने भन्दै महासंघले निर्णायक भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । संगठित मतदाताले मात्र मिसन ८४ लाई सफल बनाउन सक्ने दाबी गर्नुभयो । 

त्यस्तै, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जनजातिहरूको हक अधिकार सम्मान, समृद्धि र स्वाधीनताका लागि अभियानमा जुटेको संगठन भएको बताउनुभयो । महासंघ स्थापना भएको १७ वर्ष भइसकेको भन्दै अहिले नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ नेतृत्व कायम गर्ने बिन्दुमा आइपुगेको बताउनुभयो । महासंघको समिक्षा गरेर निष्कर्ष निकाल्न जरुरी रहेको भन्दै नेतृत्व सुदृढ र प्रभावकारी आउन आवश्यक रहेको चर्चा गर्नुभयो ।