• १३ साउन २०८१, आइतबार

‘यो सरकार दृढ भएर अघि बढ्न सकोस्’

blog

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २६ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरणको सरकारलाई सफलताको शुभकामना दिनुभएको छ । शनिबार विज्ञप्ति जारी गर्नुहुँदै उहाँले शुभकामना दिनुभएको हो । 

“देशमा एक वर्षअघि बनेको गठबन्धन सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा २१ फागुनमा नयाँ बाम लोकतान्त्रिक गठबन्धन सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको सकारात्मक परिवर्तन हो” नेता खनालले सन्देशमा भन्नुभएको छ, “नयाँ सरकारलाई पार्टीको तर्फबाट स्वागत र समर्थन गर्दछु ।” 

त्रिशंखु संसदमा कुनै पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य रहेको उहाँले चर्चा गर्नुभएको छ । विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै आधारभूत समस्यालाई सम्बोधन गर्न नसकेको उहाँले बताउनुभएको छ ।

“देशको राजनीति, अर्थतन्त्र, सामजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झन संकटग्रस्त बन्दै गइरहेको थियो । बेरोजगारी र भ्रष्टाचार झन व्यापक बन्दैगएको थियो” उहाँले सन्देशमा भन्नुभएको छ, “वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको थियो, त्यही जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै यो बाम लोकतान्त्रिक शक्तिको नयाँ सरकार बनेको छ ।”

सरकारलाई दायाँबायाँ गर्ने छुट नरहेको चर्चा गर्नुहुँदै नेता खनालले भन्नुभयो, “सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन् । मुलुकलाई संविधानको भावनाअनुरुप समाजवादको दिशामा अघि बढाउन नयाँ गठबन्धनको सरकार दृढ भएर अघि बढ्न सकोस् ।”

वामपन्थी पार्टीहरूले आत्मकेन्द्रित चिन्तन र स्वार्थबाट मुक्त भएर जनता र देशको हितलाई केन्द्रमा राखेर साझा सवालमा सुदृढ एकता कायम गर्दै अघि बढ्न जरुरी रहेको नेता खनालको सुझाव छ । यो एकतालाई सुदृढ बनाउँदै मुलुकलाई अग्रगतितिर अघि बढाउनु आजको आवश्यकता रहेको उहाँले बताउनुभएको छ ।