• १३ साउन २०८१, आइतबार

अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

blog

विपन्नलाई खाद्यान्न वितरण कार्यक्रम

सिराज खान 

नेपालगन्ज, फागुन २६ गते। नेपालगन्जमा मुस्लिम समुदायका अति विपन्न ३२० परिवारलाई कतार च्यारिटी नेपालले खाद्यान्न वितरण गरेको छ।

रमजानमा रोजा बस्ने अतिविपन्न र गरिब परिवारलाई खानेकुराको अभाव नहोस् भन्ने उदेश्यले खाद्यान्न वितरण गरिएको कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले बताउनुभयो। 

शनिबार यहाँ आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना र कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरणको सुरुवात गर्नुभयो।

लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले रोजाको मुखमा आएर अतिविपन्न परिवारको छनोट गरेर खाद्यान्न वितरण गर्नु सराहनीय कार्य भएको बताउनुभयो। उक्त अवसरमा बोल्दै कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले बाँकेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो। 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, आईडियल पब्लिक स्कुलका शिक्षक मोहम्मद ईलियास, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले  वितरण भएको खाद्यान्नले विपन्न परिवारलाई रमजान मनाउन ठुलो सहयोग गर्ने बताउनुभयो।

विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनी, एक केजी नुन र एक किलो सेवई गरेर चार हजार २३८ रुपियाँको सामग्री रहेको बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो।