• १३ साउन २०८१, आइतबार

सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक

blog

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

काठमाडौं, फागुन २६ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रबिचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभई सरकारको पनि बताउनु भयो । उहाँले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशतभन्दा तल आएको बताउनुभयो ।

केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उहाँको दाबी थियो । उहाँले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताउनुभयो ।

‘‘अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर दुई भन्दा मुनि छ । त्यो अब एक दुई महिनापछि सार्वजनिक गर्ने नै छौँ । देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन । नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रबिचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौँ ।,’’ उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘‘निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरू सक्नुहुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन । हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब गर्‍यो भने गाडी एक्सीडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरूले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजोभन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ । यो सरकारबाट हुनसक्ने सबै प्रकारको सहयोग हामी गर्न तयार छौँ ।’’

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोसाकमा धेरै ठुलो परिवर्तन गर्नसक्ने बताउनुभयो ।