• १३ साउन २०८१, आइतबार

नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौँ

blog

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । फाइल तस्बिर

काठमाडौं, फागुन २६ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ। 

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिले एमाले सिद्ध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएको बताउनुभयो । 

शनिबार पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ५ को १२ औँ अधिवेशनमा बोल्दै उहाँले नयाँ सत्ता समीकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गर्नुभयो । 

मिसन २०८४ जारी रहने र अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘हामीले मिसन– २०८४ भनेका छौँ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ । निर्वाचन पछि कसैको बहुमत नआएको अवस्थामा मिलेर सरकार बनाउन सकिन्छ । तर निर्वाचन भन्दा पहिलो राष्ट्रव्यापी रूपमा जो गठबन्धन गरेर एमालेको विरुद्ध हमला गरियो । त्यो आपराधिक योजना अन्तरगत थियो भनेर हामीले भन्यौँ । अहिले हेरफेर भयो । यो भनेको त्यो षड्यन्त्रपूर्ण ढङ्गले बनेको गठबन्धन पराजित भएको हो । त्यो गठबन्धन भत्केको हो ।’’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।