• १५ जेठ २०८१, मङ्गलबार

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना

blog

जथाभावी सडकमा फोहोर फाल्ने व्यापारीलाई जरिवाना गर्दै मेयर विष्ट । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २६ गते । आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गरिएको छ ।  

उपमहानगरको निर्णयविरुद्ध फोहोर जथाभाबी फाल्ने र सडकमा निर्माण सामग्री राख्नेबाट नगद जरिवाना असुल गरेर सो कार्य नगर्न कडाइ सुरु गरिएको उपमहानगरले जनाएको छ । 

पटक–पटकको आग्रह र सूचनाको बेवास्ता गर्दै सडकमा जथाभाबी फोहोर फाल्ने र निर्माण सामग्री राखेर सडक अवरुद्ध गर्नेक्रम नरोकिएपछि जनही पाँच हजार रुपियाँ नगद जरिवाना असुल गर्न सुरु गरिएको नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले बताउनुभयो । 

उहाँले उपमहानगरको अनुरोधलाई बेवास्ता गर्दै अटेरी गर्ने आठ व्यापारिक फर्म, बैङ्क तथा पसलबाट पाँच हजार रुपियाँका दरले जरिवाना असुल गरिएको बताउनुभयो । यसरी सडकमा जथाभाबी फोहोर फालेर जरिवाना तिर्नेहरूमा ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बार रहेको नेपालगन्ज उपमहानगरले जनाएको छ । 

ती सबै व्यापारिक प्रतिष्ठानले सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम पाँच हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टाभन्दा बढी समयदेखि निर्माण सामग्री राखेर सडक अवरुद्ध गरेबापत पाँच हजार रुपियाँ जरिवाना गरिएको मेयर विष्टले बताउनुभयो । 

यसअघि उपमहानगरका विभिन्न स्थानका पसल–पसलमा पुगेर मेयर विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, होटल व्यवसायी सङ्घ लगायतको सर्वपक्षीय टोलीले पटक–पटक सडकमा जथाभाबी फोहोर नफाल्न आग्रह गर्दै त्यसो गरिएको पाइएमा जरिवाना गर्ने जानकारी गराएको थियो । 

हाल आएर सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गर्न सुरु गरिएको जनाइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सर्वसाधारणमा चेतना जगाउन विभिन्न प्रकारका सचेतनासम्बन्धी अभियान समेत सञ्चालन गरेको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ मा पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।

नेपालगन्जका उपमेयर कमरुद्दीन राईले जथाभाबी फोहोर नफाल्न र सडकमा निर्माण सामग्री नथुपार्न पुनः आग्रह गर्दै त्यस्तो गरिएको पाइएमा जोसुकै भए पनि जरिवाना गरिने बताउनुभयो ।