अमृतप्रसाद पौडेल
फागुन २६ गते । कहीँ कतैबाट पानीको स्रोत देखिँदैन तर बाह्रै महिना पानी सुक्दैन गलेश्वरस्थित बराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको बराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन ।
९ रोपनी क्षेत्रफल रहेको एउटै ठुलो चट्टानमाथि रहेको कुण्डमा सधैँ पानी रहीरहने अनौठो भए पनि कहिल्यै नसुकेर सबैलाई चकित पार्ने गरेको छ । गलेश्वर मन्दिरमा पूजा अर्चना कहिले सुरु गरियो भन्ने तथ्य र मन्दिर छेउमा रहेको जलकुण्डमा पानीको स्रोत कतादेखि र कहिलेदेखि भन्ने पनि कसैलाई यकिन नभएको बताउनुहुन्छ गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुन ।
पछिल्लो ४० वर्षको अवधिमा मलाई याद भएसम्म यहाँको जल सुकेको थाहा छैन, उहाँले भन्नुभयो, “२०२८ सालमा मैले पढ्ने बेलामा पातपतिङ्गर कुण्डमा परेर सडेर दुर्गन्ध भएको भनेर गुरु नीलकण्ठ आचार्यको आग्रहअनुसार कुण्डको सबै पानी निकालेर फालेका थियौँ, त्यसपछि पूरा खाली गर्न हुँदैन भनेर कालिण्डकी नदीबाट चार गाग्री पानी ल्याएर हालियो । त्यही रात भीषण वर्षा भएर पानीको सतह साबिकजस्तै भयो ।”
बेनी नगरपालिका –९ जम्रेनीका पण्डित टिकानन्द सुवेदीका अनुसार खडेरी परेर सबैतिर पानीको हाहाकार भएको समयमा कुण्ड सफा गरेर पानी फालिएको थियौ । तर त्यही रातको वर्षाले पानीको सतह साबिकको जस्तै बनायो । पछिल्लो ३० वर्षदेखि मन्दिर व्यवस्थापनमा आफू रहेको उहाँको भनाइ छ ।
जस्तोसुकै खडेरी होस् कुण्डमा पानी नसुक्ने उहाँले बताउनुभयो । वर्षामा भरिएर बाहिर पनि जाँदैनन्, निश्चित सतह कायम रहिरहन्छ । प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले ९ रोपनीको एउटै शिलामाथि मन्दिर र जलकुण्ड रहस्यमय रहेको बताउनुभयो । धार्मिक महत्वको स्थल भएको कारण पनि यहाँ केही धार्मिक शक्तिकै कारणले गर्दा पनि पानी नसुकेको हुनसक्छ उहाँको भनाइ छ ।
अन्नपूर्ण गाउँपालिका –६ घार घरभइ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा बस्दै पछिल्लो ३१ वर्षदेखि बस्दै आउनुभएका एकानन्द खड्का (गिरी) ले देवशक्तिकै कारण पानीको स्रोत कहिल्यै ननासिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुण्डको छेउमा रहेको काठे पीपल पनि उत्रै छन्, अनि पानीको सतह पनि मैले जान्ने भएदेखि यहाँ उस्तै देखेको छु ।”
गलेश्वर मन्दिरमा दैनिक पूजा अर्चना हुनुका साथै साउनका सोमबार एवम् महाशिवरात्रि तथा बालाचतुर्दशीमा ठुलो मेला लाग्ने गर्दछ । महाशिवरात्रिको दिन यस वर्ष गलेश्वर मन्दिरमा झण्डै पाँचसय जना भक्तालुले शिवधुनि लगाउँदै जाग्राम बसेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाले बताउनुभयो ।