• १५ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर (फोटो फिचर)

blog

तौलिहवा, फागुन २६ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात् ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ। यो मन्दिरको यस जिल्लाकै प्राचीन मन्दिर हो। सुब्बा गोस्वामी जयकृष्ण पुरी उनले विक्रम  सम्वत् १८७२ मा काष्ठ मन्दिरको निर्माण गरेका थिए र सो मन्दिर विक्रम सम्वत् १९२८मा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको थियो। जयकृष्ण पुरीका चेला अर्थात् भाइ गोस्वामी राजराजपुरीले विक्रम सम्वत् १९३० मा पक्की मन्दिर निर्माण गरेका थिए।

विक्रम सम्वत् १९७४ मा गोस्वामी लच्छीपुरीका पुत्र गोस्वामी गोपालपुरी तथा हेमलाल पुरीद्वारा मन्दिरको जिर्णोव्दार गरिएको थियो पुनः विक्रम संम्वत २०१५ मा गोस्वामी गोपालपुरीका पुत्र गोस्वामी बाबा गोपीनाथ कामेश्वर पुरी तथा गोस्वामी हेमलाल पुरीका पुत्र गोस्वामी बाबा पारस प्रतापपुरी द्वार पुनः निर्माण गरियो। विक्रम सम्वत् २०३५ मा गोस्वामी बाबा गोपीनाथ कामेश्वरपुरी तथा उहाँका पुत्र डा। सर्वेश्वर पुरी र बाबा हेमलालपुरीकी पुत्री सुश्री विन्ध्यवासिनी पुरीद्वारा बृहत् जीर्णोद्धार गरियो।

 निकै नै आकर्षक र कलात्मक शिखर शैलीको यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको करिब ३ फिट अग्लो शिव लिङ्ग रहको छ। जसलाई तामाको नागले घेरेको छ। यस मन्दिरको कम्पाउन्ड निकै नै ठुलो छ जसमा ४ वटा ढोका प्रमुख ढोका पश्चिममा हुनुको साथै मन्दिर पश्चिमामा मुख रहेको छ। पश्चिम र पूर्वमा २  २ वटा वटा ढोकाहरू छन्। पश्चिमबाट मन्दिरमा प्रवेश गर्दा मन्दिरको अगाडी पित्तलको बसाहा छ जहाँ चारै तिरबाट घण्टाहरू झुन्डाइएको छ। बसाहाको  दायाँ र बायाँ ठुला २ वटा घण्टा पनि छन्। मन्दिरको चारै तिर पनि ढोकाहरू रहेका छन्।

पश्चिम प्रमुख ढोका पित्तलको छ भने बाँकी ३ दिशाको ढोकाहरू काठले बनेका छन्। पश्चिम ढोकाबाट पसेपछि भित्र फेरी अर्को सानो ढोका रहेको छ सो ढोकाबाट पसे पछि मात्र निकै नै आकर्षक शिव लिङ्ग रहेको छ। शिव लिङ्गलाई गोलाकार आकारमा स्टिलको बार लगाइएको छ। शिव लिङ्गको चारैतिर विभिन्न देव देवताहरूको तस्बिरहरू झुन्डाइएको छ। भक्तजनहरूको सेवाको लागि पुजारी त्यही बसी रहेका हुन्छन् र ती पुजारीहरूले नै दैनिक नित्य पूजा अर्चना पनि गर्ने गर्दछन्। 

मन्दिर परिसरमा दायाँ र बायाँ तर्फ भक्तजनहरूको लागि भनेर पानीको धारा जडान गरिएको छ। बायाँतर्फ मन्दिर व्यवस्थापनको कार्यालय र धार्मिक पुस्तकको पुस्तकालय समेत रहेको छ। यसको नजिक शिलालेख लगायत विभिन्न देवदेवताहरुको मूर्ति समेत रहेका छन्। मन्दिरको पछाडि मण्डपका साथै ३ वटा ठुलो घण्टा समेत रहेको छ। त्यस्तै यो शिखर शैलीको मन्दिरको माथि चारैतिर नागको मूर्ति रहेको छ। मन्दिरको दाहिने तर्फ माथि चाँदीको ठुलो निकै नै आकर्षक त्रिशूल राखिएको छ। मन्दिरको चुचुरोका सुन जलप गरेको गजुर छ।

गजुरको चारैतिर नाग समेत रहेको छ। मन्दिरको चारै दिशामा शिखरशैलीको ४ वटा सानो सानो मन्दिर जस्तो बनाइएको छ। मन्दिर परिसरमा क्यामरा जडान समेत गरिएको छ। मन्दिर प्रवेश गरेपछि धूम्रपान गर्नु निषेध गरिएको छ। मन्दिर  परिसरमा रुद्राक्षको मालाहरू झुन्डाइएको छ। मन्दिरको चारै तिर सत्तलहरू छन्। जहाँ भक्तजनहरू आफ्नो पूजा अर्चना, विवाह, व्रतबन्ध, धार्मिक प्रवचन आदी हुने गर्दछ। मन्दिर निकै नै आकर्षक हुनुको साथै सफा सुग्घर समेत रहेको छ। यस मन्दिरमा दैनिक भक्तजनहरूको भिड लाग्ने गर्दछ। विशेष गरी हिन्दुहरूको  महानपर्व महाशिवरात्रि पर्वमा यस मन्दिरमा भव्य पूजा अर्चना हुने गर्दछ।

उक्त दिन शिव लिङ्गलाई सुन र चाँदीको गहनाले सजाइन्छ। यही शिवरात्रि पर्वमा भक्तजनहरूको निकै नै  भिड हुने गर्दछ ।



तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर(फोटो फिचर) तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर(फोटो फिचर) तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर(फोटो फिचर) तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर(फोटो फिचर) तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर(फोटो फिचर)