• १७ असार २०८२, मङ्गलबार

आठ हजार बालबालिकालाई खोप

blog

रामेछाप समाचारदाता

रामेछाप, फागुन २६ गते । रामेछापका करिब आठ हजार बालबालिकाले दादुरा–रुबेला विरुद्धका खोप लगाएका छन् । रामेछाप जिल्लामा यो अभियान अन्तर्गत ११ हजार ५७९ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य थियो । 

दोस्रो चरणको अभियान सकिँदासम्म लक्ष्यको ६८.१५ प्रतिशत अर्थात् सात हजार ८९१ जना बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सबैभन्दा बढी मन्थली नगरपालिकामा लक्ष्यको झन्डै ८० प्रतिशत र सबैभन्दा कम सुनापति गाउँपालिकामा लक्ष्यको झन्डै ४१ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । मन्थली नगरपालिकामा दुई हजार ७१७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा दुई हजार १७० जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा संयोजक केशवराज फुयाँलले बताउनुभयो । सुनापति गाउँपालिकामा ८३७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ३४२ जनालाई खोप लगाइएको गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक चिनीमाया बलले बताउनुभयो । 

यस्तै रामेछाप नगरपालिकामा लक्ष्यको ६७.२० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । नगरपालिकाले एक हजार ८२० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा एक हजार २२३ जनालाई खोप लगाइएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णुबहादुर कार्कीले बताउनुभयो । खाँडादेवी गाउँपालिकामा एक हजार दुई सय बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ६० प्रतिशत अर्थात् ७२० जना बालबालिकालाई दादुरा– रुबेलाविरुद्धको खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।  यसै गरी लिखुतामाकोशी गाउँपालिकाका ६०.१९ प्रतिशत बालबालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । एक हजार ३३३ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा ८०४ जना बालबालिकालाई मात्रै दादुरा–रुबेला विरुद्धको खोप लगाइएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक किशोरीप्रसाद साहले बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकामा एक हजार २३३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यको ६४.५८ प्रतिशत अर्थात् ७९६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो । उता गोकुलगङ्गा गाउँपालिकामा एक हजार २७४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ९४५ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा संयोजक जागिर रायले बताउनुभयो । दोरम्बा शैलुङ गाउँपालिकामा एक हजार १६७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ८९१ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको सूचना तथा सञ्चार प्रविधि अधिकृत आयुषकुमार लामाले बताउनुभयो । 

रामेछापमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाका सबै वडामा फागुन १३ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । त्यसै गरी मन्थली नगरपालिकासहित उमाकुण्ड, गोकुलगङ्गा, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका सबै वडामा फागुन २१ गतेदेखि २३ गतेसम्म दोस्रो चरणको खोप सञ्चालन भएको थियो । अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको हो ।