• ११ मंसिर २०८१, मङ्गलबार

असल शिक्षक

blog

विद्यालयभित्र कार्यरत कैयाैँ शिक्षक कर्तव्यनिष्ठ छन् । तिनले आफ्नो पेसाको मर्यादा बुझेका छन् । उनीहरू चाहे अस्थायी, करार, राहत, निजी, स्थायी जुनसुकै पदमा भए पनि कालो बादलमा चाँदीको घेरा झैँ शिक्षकको धर्म निर्वाह गरिरहेका छन् ।

दक्ष शिक्षकबिना विद्यालयको शैक्षिकस्तर उठ्न सक्दैन । शिक्षालाई सबल बनाउन अब्बल शिक्षकको खाँचो पर्दछ । हामीकहाँ अन्यत्र कहीँ जागिर नपाएपछि बल्ल शिक्षक बन्न खोज्ने प्रवृत्ति छ । पढ्न पनि विज्ञान, व्यवस्थापन, मानविकी शिक्षापछि मात्र शिक्षा प्राथमिकतामा पर्ने गरेको छ । शिक्षाशास्त्रका प्राध्यापकको समेत गुणस्तर मूल्याङ्कन हुनुपर्ने देखिन्छ । यिनै प्राध्यापकले नै पढाएर, तालिम दिएर विद्यालयमा अध्यापन गराउने जनशक्ति बन्छन् । यसर्थ शिक्षा सङ्कायका प्राध्यापक पनि दक्ष र योग्य हुनु जरुरी छ । दक्ष, असल र सबल प्राध्यापक भएमा नै तिनले सिकाएका, पढाएका विद्यार्थी सबल बन्न सक्छन् । 

अहिले हरेक गाउँ र टोल टोलसम्म शिक्षाको पहुँच पुगेको छ । जनताका हात हातमा मोबाइल, घर घरमा कम्प्युटर, रेडियो, टेलिभिजन आदि पुगिसकेका छन् । चेतनाको स्तर माथि उठिरहेको छ । पढ्नु पर्छ भन्ने चेतना सबैतिर छ । देशभित्र गुणस्तरीय शिक्षा र सुशासनको नारा घन्किरहेको छ ।

सङ्घीय सरकारले शिक्षा क्षेत्रमा गर्नुपर्ने कार्य व्यवस्थित गरी स्थानीय तहलाई जिम्मेवार बनाउन सके मात्र शैक्षिक क्षेत्र राम्रो हुन्छ । संविधानमै स्थानीय तहको अधिकार क्षेत्रभित्र आधारभूत र माध्यमिक शिक्षालाई राखिएको छ । यस दिशातर्फ खासै जिम्मेवार तह सचेत देखिँदैन । यसैको परिणाम स्वरूप नै शिक्षाको व्यवस्थापन र विकास निर्माणका पूर्वाधार वैज्ञानिक ढङ्गले सुदृढीकरण हुन सकेको छैन । 

शिक्षाको विकाससँगै समाजको पनि विकास हुने हो । शिक्षाले नै समाजमा विद्यमान विकासका प्रक्रियालाई मापन गरेर अगाडि बढाउने हो । यसर्थ मुलुकभित्र असल शिक्षा भएमा समाजको सर्वाङ्गीण विकास अग्र गतिमा बढ्छ । यसका लागि गुणस्तरीय शिक्षा आवश्यक पर्छ । शिक्षामा कम लगानीकै कारण दक्ष जनशक्ति र स्रोतसाधनको अभाव खड्किरहेको छ । हाम्रो शिक्षा प्रणालीभित्रै निजी विद्यालय शिक्षा पनि प्रबल ढङ्गले अगाडि बढिरहेको छ ।

सार्वजनिक शिक्षा र निजी शिक्षाका सम्बन्धमा घनीभूत बहस भइरहेको छ । कतिपयले शैक्षिक वातावरण तथा गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका विद्यालय आवश्यक ठान्दछन् भने कतिपयले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सरकार बढी सजग हुनुपर्ने कुरामा नै जोड दिइरहेका छन् । सार्वजनिक विद्यालयप्रति सरकारले नै उदासीनता देखाउँदै आएको गुनासो सुनिन्छ । सार्वजनिक पद धारण गर्नेहरूले आफ्ना केटाकेटीलाई सार्वजनिक विद्यालयमा पढाउन पर्छ भन्ने माग पनि बढ्न थालेको छ । यो कतिसम्म व्यावहारिक हुन्छ त्यो आफ्नै ठाउँमा छ ।

सार्वजनिक विद्यालयप्रति सकारात्मक धारणा बनाउन सरकारले त्यहाँ देखिएका कमीकमजोरीलाई सुधार गर्नु पर्छ । अनि मात्र शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन सकिन्छ । कम गुणस्तरका शिक्षकबाट पठनपाठन हुँदा सामुदायिक विद्यालय स्तरीय नहुने हुँदा सबल र योग्य शिक्षकको छनोटको व्यवस्था हुनु जरुरी छ । अहिले पनि कतिपय विद्यालयमा मुस्किलले उत्तीर्ण अङ्क प्राप्त गरेका शिक्षकबाट नै पठनपाठन हुने गरेको छ । शिक्षकमा विद्यार्थीलाई भविष्यमा आफूसामु आउने चुनौती चिर्ने कला सिकाउने क्षमता पनि चाहिन्छ । अबका शिक्षकले आलोचनात्मक चेत, सञ्चार, सहकार्य र रचनात्मकता सिकाउने शैक्षिक विज्ञका रूपमा आफूलाई उभ्याउन सक्नु पर्दछ । यसका लागि दक्ष शिक्षक नै पहिलो सर्त हो । सार्वजनिक विद्यालयले योग्य र दक्ष शिक्षक पाएमा सार्वजनिक शिक्षाको गुणस्तर माथि उठ्न सक्छ । अनि स्वतः विद्यार्थी आकर्षित हुने छन् ।

देशको भविष्य भनेको नै आजका बालबालिका हुन् । उनीहरूभित्र जे छ त्यही क्षमता, दक्षता, संस्कार र संस्कृति हामीले हुर्काउने हो । आज शिक्षकले सिकाएका ज्ञान र सिपबाट भोलिको देश निर्माण हुने हो । अर्थात् आजका शिक्षकको हातमा भोलिको देशको भविष्य छ भन्दा अत्युक्ति नहोला ।

बालबालिकाको भविष्य उसको सोच, संस्कार र सिप असल शिक्षकको वरदान मान्न सकिन्छ । यस अर्थमा शिक्षण पेसा अन्य पेसाभन्दा फरक छ । शिक्षण पेसालाई जागिरेका आँखाले हेर्नु हुँदैन । यो पेसा जागिरे सोचबाट माथि उठी सेवा र आदर्शबाट अभिप्रेरित हुनु पर्दछ । आज शिक्षकले पढाएका बालबालिका भोलि देशको नीति निर्माण कार्यदेखि देशको उच्च पद समाल्ने हुन्छन् । भविष्यका कर्णधार बनाउने काम असल शिक्षकबाट मात्र हुन सक्छ । यसैले राम्रा शिक्षकले निरन्तर सिकिरहन र जानकारी लिइरहनुपर्ने हुँदा पठनीय संस्कृतिलाई हमेसा अँगालिरहनु पर्छ । यस्ता शिक्षकबाट नै बालबालिकाले नयाँ ज्ञान र नयाँ सिप सिक्छन् । जुन शिक्षक ज्ञानले भरिएका हुन्छन्, उसलाई शिक्षण कार्यमा कतै पनि समस्या पर्दैन । शैक्षिक कुराको सूचना शिक्षकले सधैँ लिइरहनु पर्छ । 

अन्य पेसाभन्दा शिक्षण पेसा सेवामुखी कार्य पनि हो । यस पेसामा लाग्नेले आदर्श र नैतिकतालाई सुरक्षित राख्न जान्नै पर्ने हुन्छ । यी दुई कुरा मानव जीवनका अन्योन्याश्रित पक्ष हुन् । समाजमा बस्ने मानिस सामाजिक हुनु प¥यो । सामाजिक बन्न सिकाउने शिक्षा नै आदर्श शिक्षा हो । यसैबाट बालबालिकामा मानवीय गुण र परोपकारी भावना जगाउन सकिन्छ । शिक्षक हुनु भनेको समाजको असली स्रष्टा बन्नु पनि हो । असल नागरिक निर्माणबाट नै राष्ट्रको विकास हुने हो । यो कामको दायित्व शिक्षकमाथि पर्दछ । यसर्थ शिक्षकले गर्भका साथ आफ्नो पेसाको दायित्व निर्वाह गर्न सक्नु पर्दछ ।

शिक्षण पेसालाई आदर्श मान्नुको अर्थ अन्य पेसाभन्दा भिन्न निःस्वार्थ भावले बालबालिकालाई शिक्षा दिनु नै हो । हामीले देखेका छौँ, समाजमा आफ्ना लागि मात्र गर्ने, आफन्तलाई मात्र गर्न खोज्नेहरूको जमात यहाँ धेरै छ । यसरी निजी स्वार्थमा काम गर्नेका लागि समाजमा कदर र इज्जत हुँदैन तर समाजमा जसले निजी जीवनभन्दा माथि उठेर सबैको हित हुने कार्य गर्दछ त्यो नै आखिरीमा समाजको पूजनीय बन्न सक्छ । यस्ता व्यक्तिमा राम, कृष्ण, गौतम बुद्ध, महात्मा गान्धी, अब्राहम लिङ्कन, नेल्सन मन्डेला, जोन अफ केनेडी, बिपी कोइराला, विवेकानन्द स्वामी आदिको नाम लिन सकिन्छ । आफ्ना लागि भन्दा अरूका लागि सोच्ने मानिसबाट नै शिक्षकले सही पाठ सिक्ने कोसिस गर्नु पर्छ ।


मानिसले जीवनभर सिकिरहेको हुन्छ । समाजमा देखिएका हर वस्तु चिज वा विषयबाट केही न केही हामीले सिकिरहेका हुन्छौँ । यसर्थ शिक्षक जो बालबालिकालाई सिकाउँछ ऊ त झनै अध्ययनशील हुनु जरुरी छ । बालबालिका वा विद्यार्थीले पनि समाजबाट केही न केही सिकिरहेका हुन्छन् । त्यसैका आधारमा बालबालिकाले आफ्नो व्यवहारमा सरलता, प्रेम, सम्मान र जिज्ञासा सिकिरहेका हुन्छन् । शिक्षक र विद्यार्थी दुवै एकै हुन् । अर्थात् शिक्षक पनि सधैँ विद्यार्थी भएर सिकिरहनु पर्छ । विद्यार्थीको त सिक्ने काम नै हो । दुवै पक्षले आफूलाई टाठो, बाठो बनाउन राम्रो ज्ञान र सिप जान्नै पर्‍यो, पढ्नै पर्‍यो । यसर्थ शिक्षण पेसाले निरन्तर सिक्ने र सिकाउनेतर्फ उत्प्रेरणा दिइरहन्छ ।

विद्यालयभित्र कार्यरत कैयौँ शिक्षक कर्तव्यनिष्ठ पनि छन् । तिनले आफ्नो पेसाको मर्यादा बुझेका छन् । उनीहरू चाहे अस्थायी, करार, राहत, निजी, स्थायी जुनसुकै पदमा भए पनि (कालो बादलमा चाँदीको घेरा) झैँ शिक्षकको धर्म निर्वाह गरिरहेका छन् । हाम्रो चाहना नै सबै शिक्षक विशुद्ध शिक्षक भएर कर्तव्यनिष्ठ होउन् भन्ने हो । यसर्थ समग्र शिक्षाको सुधार हुनु जरुरी छ ।

सधैँभरि शिक्षा क्षेत्रमा देखिएको अन्योलबाट देशले योग्य र दक्ष जनशक्ति पाउन सक्दैन । जुनसुकै राजनीतिक दलले पनि शिक्षकलाई आफू अनुकूल परिचालन नगरोस् । शिक्षण पेसालाई विशुद्ध प्राज्ञिकका रूपमा हेरोस् । राजनीतिक दलले आफू सत्तामा पुग्न शिक्षक, विद्यार्थीलाई भर्‍याङ बनाउने कार्यबाट मुक्त राखोस् । सबैको सामूहिक प्रयास सामूहिक हित कार्य नै मानव जीवनको उच्चतम् मार्ग हो । यसै सन्दर्भमा प्रख्यात दार्शनिक प्लेटोले पनि भनेका छन्, “सामूहिक रूपमा भलो गर्नु नै न्याय हो ।” अर्का विद्वान् चाल्र्स डार्बिनले पनि संसारमा जो योग्य छ त्यो नै बाँच्ने हो भनेका छन् । मानिसलाई योग्य मान्नका लागि पनि असल शिक्षाको खाँचो पर्छ । असल शिक्षाका लागि असल शिक्षक नभई हुँदैन ।

Author

रमेशप्रसाद गौतम