• १२ मंसिर २०८१, बुधबार

हिउँले बाटो छेक्दा खोप प्रभावित

blog

हुम्ला समाचारदाता 

हुम्ला, फागुन २६ गते ।   हिउँले बाटो अवरुद्ध हुँदा शुक्रबारबाट सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप उत्तरी नाम्खा गाउँपालिकामा प्रभावित भएको छ । स्वास्थ्यकर्मी खोप लिएर जान नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो । 

नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका संयोजक ग्याछो लामाका अनुसार गाउँपालिकाका १५ वटै खोप केन्द्रमा शुक्रबार खोप कार्यक्रम सुरु हुन सकेन । शाखाले भ्याक्सिन बुझिलिए पनि बाटो अवरुद्ध हुँदा खोप केन्द्रसम्म स्वास्थ्यकर्मी जान सकेनन् । बाँकी रहेको ठाउँमा खोप कार्यव्रmम पछि सञ्चालन गरिने र त्यसका लागि स्वास्थ्य शाखाले मिति तोक्ने जनाइएको छ । थप हिमपात नभएको अवस्थामा लिमीबाहेकका खोप केन्द्रमा चैत १ गतेबाट दादुरा–रुबेलाविरुद्धको खोप सञ्चालन हुन सक्ने छ । नाम्खा गाउँपालिकामा खोप लगाउने उमेर समूहका १६८ जना बालबालिका रहेका छन् । 

लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले दादुरा–रुबेलाविरुद्धको खोप लगाउन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार लिमी आउने दुवै नाका चार हजार छ सय मिटर अग्लो नाना र पाँच हजार मिटर अग्लो न्यालु नाका हिमपातले बन्द भएका कारण भ्याक्सिन ढुवानी गर्न नसकिएकाले खोप कार्यक्रम प्रभावित भएको हो । बाटो अवरुद्ध हुँदा बालबालिकालाई नियिमत लगाउनुपर्ने अन्य खोप पनि लगाउन सकिएको छैन । 

लिमीका तीन गाउँ तिल, हल्जी र जाङ गाउँमा खोप लगाउने बालबालिका छन् । जिल्ला स्वास्थ्य प्रमुख प्रेम सिंहले यो समस्याका विषयमा यसअघि नै माथिल्लो निकायमा जानकारी गराइएको र लिमीमा खोप ढुवानी गर्न हेलिकोप्टरको व्यवस्था गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको जानकारी दिनुभयो । 

जिल्लाका कुल १०७ मध्ये ७२ वटा खोप केन्द्रमा मात्र खोप कार्यव्रmम सञ्चालन भएको छ । खोपका लागि ३२१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको जनाइएको छ । जिल्लाका छ हजार २१२ जना बालबालिका खोपबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।