• १३ मंसिर २०८१, बिहिबार

सङ्कलन गरिँदै गुठी जग्गाको विवरण

blog

लीलाधर वली

घोराही, फागुन २६ गते । स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीले जग्गाको विवरण सङ्कलन गर्न थालेको छ ।  किसानसँग पहिलो चरणको वार्ता गरेपछि वार्ता टोलीले जग्गाको विवरण सङ्कलन गर्न लागेको वार्ता टोलीका सदस्य एवं दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभएको छ । 

पुनले वार्ता टोलीले मालपोत कार्यालय, नापी कार्यालय र स्वर्गद्वारी आश्रमलाई जग्गाको विवरण उपलब्ध गराउन भनिएको बताउनुभयो । उहाँका अनुसार कार्यालय तथा स्वर्गद्वारी गुठीसँग भएको जग्गाको विवरण आएपछि त्यसको अध्ययन गरेर थप प्रव्रिmयामा जाने समितिको तयारी छ । 

वार्ता समितिले स्वर्गद्वारी आश्रम तथा नापी कार्यालय र मालपोत कार्यालयलाई जग्गाको विवरण एक हप्ताको अवधिमा बुझाउन भनेको जानकारी दिनुभयो । वार्ता टोली सदस्यसमेत रहनुभएकी सहायक प्रमुख जिल्ला अधिकारी पुनले भन्नुभयो, “जग्गाको विवरण सङ्कलनका लागि एक हप्ताको समय दिइएको छ ।” वार्ता समितिले काम अघि बढाएपछि आन्दोलनरत किसानलाई आन्दोलनको स्वरूप परिवर्तन गर्दै २४ घण्टे धर्नालाई छोट्याएर जिल्ला प्रशासन कार्यालयमा दैनिक दिउँसो धर्ना दिँदै आएका छन् । 

स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरी वार्ता टोलीसँग पहिलो चरणमा अनौपचारिक रूपमा वार्ता भए पनि कुनै सहमति नभएको बताउनुहुन्छ । त्यहीकारण पनि आन्दोलनको स्वरूपमा परिवर्तन गरेर आफूहरूले आन्दोलनको कार्यव्रmमलाई निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वार्ता टोलीले आफ्नो तरिकाले काम गरिरहेको छ । पहिलो चरणमा सामान्य छलफल भए पनि सकारात्मक भएन । जसले गर्दा हामीले आन्दोलनलाई निरन्तरता दिइराख्छौँ ।” 

पहिलो चरणको आन्दोलनका कार्यव्रmम स्थगित गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका गुठीपीडित मोही किसानले सरकारले आफ्ना माग सम्बोधन नगरे थप सङ्घर्षका कार्यव्रmम घोषणा गर्ने तयारीमा रहेको सङ्घर्ष समितिका अध्यक्ष चौधरी बताउनुहुन्छ । गुठीपीडित मोही किसान फागुन ८ गतेदेखि आन्दोलन गर्दै आएका छन् । 

सरकारले फागुन १७ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । 

समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङका मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक एक जना प्रतिनिधि वार्ता समिति गठन गरिएको छ । 

स्वर्गद्वारी गुठीको जग्गामा एकल स्वामित्व हुनुपर्ने माग राख्दै मोही किसान आन्दोलित छन् । स्वर्गद्वारी आश्रमको एक हजार ५७ बिघा जग्गा ७५३ बिघा जग्गामा मोही कायम भएको आश्रमले बताउने गरेको छ । 

आश्रमको जग्गामा तीन हजार पाँच सयभन्दा बढी किसानले जग्गा जोतभोग गर्दै आएका छन् । आश्रमले आफ्नो जग्गाबाट २०६८ सालयता कुनै पनि आयस्रोत पाउन सकेको छैन ।