चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २५ गते । शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिला मजदुरी गर्न व्यस्त छन् । घर खर्च टार्ने आर्थिक व्यवस्थापनका लागि यहाँका महिला मजदुरी काममा व्यस्त भएका हुन् ।
मजदुरी नगरी बिहान–बेलुकाको छाक टार्नेदेखि अन्य घरखर्च जोहोका लागि सिदिङ्वा गाउँपालिका –५ लिम्बुदिनका महिला मजदुरी गर्नमा व्यस्त बनेका छन् ।
सरकारले नारी दिवसको बिदा दिए पनि श्रम तथा मजदुरी गर्नु बाध्यता भएको काममा संलग्न महिलाको भनाइ छ । घरायसी समस्या भएपछि नारी दिवस नभनी दिनैभर मजदुरीको काममा व्यस्त हुनुपरेको उहाँहरूले बताउनुभयो ।
लिम्बुदिनकी वडासदस्य रेनु लिम्बुकाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महिलाले मजदुरी गर्दैआएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनलाई आवेदन दिएका मध्येबाट छनोट भएका महिलाले अहिले श्रम गरिरहेको उहाँले बताउनुभयो । वडाले छनोट गरेको घोरेटो बाटो निर्माणमा महिलाले मजदुरी गर्दै आउनुभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिनेबाट १५ जना छनोटमा पर्नुभएको र सो सङ्ख्यामध्ये १३ जना महिला रहेको वडाध्यक्ष अम्बरबहादुर लिम्बुले जानकारी दिनुभयो ।
कार्यक्रमको मापदण्डअनुसार छनोटमा परेका विपन्न परिवारका श्रमिकले हिजोआज धमाधम मजदुरीको काम गरिरहेको वडाध्यक्ष लिम्बुले बताउनुभयो । वडाबाट छनोट भएको योजना तोक्रिम्बा–पिप्ले हुँदै जनता आधारभूत विद्यालय जोड्ने घोरेटो बाटो निर्माणको काम हुँदैआएको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नै घोरेटो बाटोसँगै जगतकाली आधारभूत विद्यालयको खेल मैदान निर्माणको योजना पनि रहेको छ । यस कार्यक्रममा समावेश भएर मजदुरी गर्नेको दैनिक पारिश्रमिक भने ६६८ रुपियाँ रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाबाट वडालाई प्रधानमन्त्री रोजगार कार्यक्रमको चार लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको वडा कार्यालयले जनाएको छ ।