• १३ साउन २०८१, आइतबार

नक्कली औषधी बेच्ने पसलमा सिलबन्दी

blog

नक्कली औषधी पसलको अनुगमन गर्दै प्रशासन टोली । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २५ गते । नक्कली औषधी बिक्री गर्ने पसल बन्द गरिएको छ । अनुगमनका क्रममा त्यस्तो भेटिएपछि पसल बन्द गरिएको हो । पसल र बिक्रेता दुवै नक्कली भएको पाइएपछि पसल बन्द गरेर बिक्रेतालाई पक्राउ गरिएको छ । 

अनुगमनको क्रममा डुडुवा गाउँपालिकाको वडा ६ चौधरीपूर्वाबाट एक जना नक्कली औषधी बिक्रेतालाई प्रशासनले पक्राउ गरी नक्कली औषधी पसल बन्द गरेको हो ।

औषधी पसल सञ्चालन गर्ने कुनै पनि कागजपत्र र अनुमति नलिई लामो समयदेखि नक्कली औषधी पसल गर्दैआएका विकास लखेरलाई नियन्त्रणमा लिँदै बाँके प्रशासनले लखेरले चलाउँदै आएको औषधी पसललाई सिलबन्दी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार लखेरसँग औषधी बिक्री गर्ने योग्यताको प्रमाणपत्र नभएको, पसल प्रचलित कानुनअनुसार कहिँकतै दर्ता समेत नभएको हुँदा पसल र बिक्रेता दुवै नक्कली भएको पुष्टि भएको जनाइएको छ ।  

औषधीजस्तो अति नै संवेदनशील बस्तुको सो नक्कली पसलमा रहेका ७५ प्रतिशतभन्दा बढी औषधी म्याद नाघेको फेला परेको जनाउँदै प्रजिअ पोखरेलले कतिपय औषधीमा आफैले कलमबाट म्याद सच्याइएको पाइएको बताउनुभयो ।

उहाँले बरामद भएका केही औषधी नेपालमा प्रतिबन्धित समेत रहेको जनाउँदै लखेरले मानिसको जीवनसँग खेलबाड गरिरहेको पाइएको उहाँले बताउनुभयो । 

नक्कली पसलमा नेपालमा उपयोग गर्न समेत निषेध गरिएका भिगो ट्रिप्पल एक्स, डर्मिकेमजस्ता औषधी सो पसलबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधी बिक्री वितरणसम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।