• २२ वैशाख २०८१, शनिबार

फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।  

सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसो १ बजेदेखि प्रतियोगिता सुरु हुने छ । आयोजक फुङ्लिङ नगरपालिकाले बिहीबार सार्वजनिक गरेको उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन अर्थात् पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबिच हुनेछ । 

यस्तै दोस्रो खेल शनिवार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच हुनेछ । शनिवार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिवेणी र सिरिजङ्घा गाउँपालिकाबिच हुने भएको छ । 

सेमिफाइनल चरणका खेलहरू भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुनेछ । जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोलाबाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहने भएको छ । 

यता प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपियाँ प्रोत्साहन रकम पाउने खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । 


दोखुस्थित फुङ्लिङ नगरपालिकाको कार्यालय । तस्बिर ः चन्द्र पन्दाक