गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २४ गते । चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने महिलालाई सम्मान गरेको छ ।
सो अवसरमा उपसभामुख इन्दिरा रानामगर, गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सहसम्पादक लक्ष्मी खतिवडा, नेतृ जयन्ती राई, रन्जु झा र गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो ।
सो अवसरमा नेता झलनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएको बताउनुभयो ।
उहाँले साहना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज महिला नेतृले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निकै परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो ।
उपसभामुख इन्दिरा रानामगरले प्रतिष्ठानले देशभरि विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो । सो अवसरमा नाटक र विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो ।